काठमाडौंमा आज बिजोर नम्बरका सवारी चलाउन नपाइने


काठमाडौं – १३ औं दक्षिण एशियाली खेलकूद (साग) समापनको दिन आज (मंगलबार) काठमाडौँका मुख्य सडकमा जोर नम्बर प्लेटका गाडी मात्र चलाउन पाइने भएको छ ।

यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो ।
सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले आज सकेसम्म सवारी नचलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले एक सूचना जारी गरी सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालवाहक सवारी साधन रिङरोडभित्र प्रवेश नगरिदिन चालकलाई अनुरोधसमेत गरेको छ ।

महाशाखाले दशरथ रङ्गशाला वरिपरिका मार्गको सकभर प्रयोग नगरी वैकल्पिक तथा भित्री सडकको प्रयोग गर्न, पुराना सवारीसाधन नचलाउन, तोकिएको ठाउँमा पार्किङ गर्न, ट्राफिकसम्बन्धी समस्या भएमा प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्न र ट्राफिक नियम पालना गर्न सूचनामार्फत सर्वसाधारणलाई अपिल गरेको छ ।

सूचनामा गाडीको हर्न नबजाउन तथा जथाभावी बाटो नकाट्नसमेत अनुरोध गरिएको छ । खेल हेर्न आउने सबैका लागि पार्किङस्थल टुँडिखेल तोकिएकाले सोही ठाउँमा पार्किङ गर्न भनिएको छ

प्रतिक्रिया दिनुहोस
Advertisement