काठमाण्डु ९ : ४२ प्रतिस्पर्धीमध्ये सात महिला उम्मेदवार


काठमाण्डु – आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाण्डु क्षेत्र नं ९ मा ४२ जनाले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रबाट १६ र विभिन्न राजनीतिक दलबाट २६ जनासहित ४२ जनाको उम्मेदवारी परेको काठमाण्डु जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभा एक सदस्यका लागि उक्त क्षेत्रबाट २२ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसमध्ये दलबाट १२ र स्वतन्त्रतर्फबाट १० उम्मेदवारी परेको छ । तीमध्ये महिला उम्मेदवारको सङ्ख्या पाँच र पुरुष उम्मेदवारको सङ्ख्या १७ रहेको छ । यसैगरी प्रदेशसभामा दुई पदका लागि २० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा (क) मा दलका तर्फबाट सात र स्वतन्त्र उम्मेदवार तीन गरी १० उम्मेदवार रहेको अधिकारीले बताए । त्यसमा महिला उम्मेदवारको सङ्ख्या दुई र पुरुष उम्मेदवारको सङ्ख्या आठ रहेको छ । प्रदेशसभा (ख) मा दलको तर्फबाट सात र स्वतन्त्र तीन गरी दश जनाको उम्मेदवारी परेको छ ।

तीमध्ये दशै जना पुरुष उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । काठमाण्डु क्षेत्र नं ९ बाट ३५ पुरुष र सात महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । उक्त क्षेत्रमा जम्मा ७२ हजार एक सय ७३ मतदाता रहेका छन् । त्यसमध्ये प्रदेश (क) मा कूल ३७ हजार एक सय र प्रदेश (ख) मा ३५ हजार ७३ मतदाता रहेका छन् ।

काठमाण्डु ९ मा ३४ मतदानस्थल तोकिएको छ भने ८५ मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त क्षेत्रमा काठमाण्डु महानगरपालिकाका चार, चन्द्रागिरी नगरपालिकाका पाँच र नागार्जुन नगरपालिकाका पाँच वडा समेटिएका छन् ।

यो क्षेत्रमा काठमाण्डु महानगरपालिकाका वडा नं १२, १४, २१ र २२ तथा चन्द्रागिरि नगरपालिकाका वडा नं १, १२, १३, १४, १५ र नागार्जुन नगरपालिकाका वडा नं ६, ७, ८, ९, १० छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement