काठमाण्डु महानगरका १७५ शिक्षकलाई ‘मनोविज्ञान’ र ‘करिअर गाइड’ तालिम दिइँदै


काठमाण्डु – काठमाण्डु महानगरपालिकाले सोमबारदेखि सामुदायिक विद्यालयका १७५ जना शिक्षकका लागि तालिम सुरु गरेको छ ।

तालिममा स्रोत शिक्षक, शिक्षामा सीप कार्यक्रमका फोकल शिक्षक र प्रारम्भिक बाल विकास कक्षाका शिक्षकलाई सहभागी गराइएको छ ।

एउटा समूहमा २५ जनालाई सहभागी गराएर ७ वटा समूहमा तालिम सञ्चालन हुनेछ । ४२ घण्टाको तालिममा ३० घण्टा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको सीप सिकाइनेछ । बाँकी १२ घण्टा करिअर गाइड (म्यापिङ्) को कक्षा चल्नेछ ।

पहिलो समूहको तालिम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षकहरू बहुआयामिक हुनुपर्छ । शिक्षण विधि कुशल हुनु असल शिक्षकको गुण हो । अब यतिले मात्र पुग्दैन । बालबालिकाले के चाहेका छन् ? उनीहरूको क्षमता पहिचान गर्ने र रुचि अनुसारको बाटोमा लाग्ने वातावरण बनाइदिनुपर्छ । शिक्षकलाई दिएको तालिमको नतिजा विद्यार्थीहरूको प्रगतिमा मापन गर्नेछौं । यसकारण तालिम अवधिमा शिक्षक भएर होइन, विद्यार्थी भएर सहभागी हुनुहोला ।’

विद्यार्थीहरूलाई आफ्नो रुचि र आफूभित्रको क्षमता पहिचान गर्न सक्ने बनाएर आफैंले छानेको पेशामा लाग्न सक्ने जनशक्ति उत्पादनमा जोड रहेको बताइएको छ । कार्यक्रममा शहरी योजना आयोगका सदस्य इन्जिनीयर शैलेन्द्र झाले भने, ‘आमाबुबा, दिदीदाजुले जे भन्नुभयो त्यही पढ्ने, आफूसँग मिल्ने साथीले छानेको भएर आफू पनि त्यही विषय पढ्ने वा त्यही सीप सिक्ने परम्परा छ । यसले व्यक्तिभित्र भएको क्षमता एकातिर हुन्छ । काम अर्कै गर्नुपर्ने अवस्था हुन्छ । पेशागत रूपमा असफल हुने कारण यही हो ।’

उनका अनुसार अरुले देखाएको बाटोभन्दा आफैंले चिनेर हिँडेको बाटोमा यात्रा सहज हुन्छ भन्ने बुझाउनपर्नेछ । शान्ति शिक्षा मन्दिर थहितिमा सुरु भएको तालिममा २७ वटा विद्यालयका शिक्षक सहभागी गराइएको छ ।

तालिम वैशाख २४ गते समापन हुनेछ । वैशाख २५ गतेदेखि जेठ १ गतेसम्मको तालिम, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा हुनेछ । तालिममा पनि २७ वटा विद्यालयको सहभागिता रहनेछ ।

जेठ २ गतेदेखिको तालिम पद्मकन्या माध्यमिक विद्यालय, डिल्लीबजारमा हुनेछ । ९ गतेसम्म चल्ने तालिममा ३४ वटा विद्यालयको सहभागिता हुनेछ । जेठ १३ गतेदेखि रत्नराज्य माध्यमिक विद्यालय बानेश्वरमा तालिम हुनेछ । त्यसमा १५ वटा विद्यालयको सहभागिता हुनेछ । तालिम जेठ २० गते सकिनेछ ।

 तालिम स्थलमध्ये रत्नराज्य माध्यमिक विद्यालयमा एउटा समूह हुनेछ । अन्य सबै विद्यालयमा २/२ वटा समूहमा तालिम चल्नेछन् ।

विद्यालय निरीक्षक रुक्मिला इटनी केसीका अनुसार अहिले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई मानसिक स्वास्थ्यमा सहयोग चाहिएको छ । यो सहयोग विद्यालयबाट नै प्राप्त हुन सकोस् भनेर शिक्षकहरूलाई मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको सीप सिकाउन लागिएको छ ।

तालिम नेपाल स्किल ल्याब र अन्तरङ्गसँगको सहकार्यमा आयोजना गरिएको छ ।

शिक्षामा सीप कार्यक्रमअन्तर्गत सामुदायिक विद्यालयका ९ र १० कक्षामा १० वटा विधामा छोटो अवधिको सीपमूलक तालिम चलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement