काठमाण्डुमा वायु प्रदूषण बढ्यो, मास्क लगाउन मन्त्रालयको आग्रह


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ ।

मन्त्रालयले काठमाण्डुको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाण्डुमा वायु प्रदूषण अत्यधिक रहेकाले सकेसम्म घरबाहिर ननिस्कन, यात्रा नगर्न र अत्यधिक प्रदूषित क्षेत्रबाट टाढा रहन अनुरोध गरे । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने ‘वर्ल्ड एयर क्वालिटी इन्डेक्स’ अनुसार काठमाण्डुको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा छ ।

‘वायु प्रदूषणले मुटु तथा रक्त नली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, घाँटी आदिमा असर पुर्‍याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मिने र अवधि नपुग्दै बच्चा जन्मिने जोखिम समेत हुन्छ,’ प्रवक्ता बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा वायु प्रदूषणबाट बर्सेनि हुने मृत्युमा बढीजसो ५ वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र वृद्धवृद्धा छन् ।

गर्मी समयमा तराईमा तातो हावा बहने र ‘लू’ लाग्ने उच्च सम्भावना भएको हुँदा तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडहुल नगर्न तथा झोलिलो पदार्थ पर्याप्त मात्रामा खान मन्त्रालयको अनुरोध गरेको छ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement