यी हुन् राजधानीका ६ निषेधित क्षेत्र: जहाँ धर्ना, जुलुस गर्न पाइँदैन


काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले क्षेत्र विस्तार गर्दै ६ वटा प्रमुख स्थानलाई निषेधित घोषणा गरेको छ।

प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका ६ स्थानलाई निषेधित क्षेत्र तोकेको हो। जहाँ कुनै किसिमका जुलुश, प्रदर्शन, धर्ना, घेराउजस्ता आन्दोलन वा बिरोधका कार्यक्रम गर्न पाइने छैन।

राष्ट्रपति कार्यालय रहेको शीतलनिवास आसपासको क्षेत्र, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संघीय संसद् भवन रहेको नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपतिको निवास सामाखुशीबाट कपुरधारा जाने मोड, निर्वाचन आयोग रहेको कान्तिपथ आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले जानकारी दिए।

सूचनाविपरीत कुनै कार्य गरे कानुनअनुसारको कारबाही हुने प्रशासनले जनाएको छ।

जिल्ला सुरक्षा समितिबाट समय समयमा तोकिएको निषेधित क्षेत्र समेतलाई पुनरावलोकन गर्दै जिल्ला सुरक्षा समितिको मंगलबारको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम अर्को आदेश नभए सम्मका लागि निषेधित क्षेत्र बढाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement