प्रकाशकीय : बदलिँदो युगको आवाज बन्ने प्रण


नेपालको सुरक्षा र कुटनीतिक क्षेत्रको पहिलो अनलाइन न्यूज पोर्टलका रुपमा शुरु भएको काठमाण्डुपाटी डटकम आजदेखि दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्षमा प्रवेश गरेको छ । दुई वर्षअघि ३० असार अर्थात् आजकै दिन हामी केही फरक धारको सूचना संवाहकका रुपमा काठमाण्डुपाटी लिएर पाठकमाझ आएका थियौं । कुनै पनि संस्थाको जीवनमा दुई वर्ष त्यति लामो समय होइन । तर, यसबीचमा हामीले जे जस्तो उतारचढावपूर्ण अवस्था र चुनौतीहरुको सामना गर्यौं, त्यसले हामीलाई प्रतिकुलतासंग जुध्न सक्ने बनाएको छ र हाम्रासामु नयां सम्भावना पनि उजागर भएका छन् ।

यसबीचमा पाठक, दर्शक र स्रोताको ठूलो समूह हामीसंग जोडिनुभएको छ । उहांहरुका सल्लाह र सुझावअनुसार नै आफूले पस्कने सामग्रीलाई थप परिष्कृत गर्दै लैजान हामी दत्तचित्त भएर लागेका छौं । हाम्रो टिमको साझा प्रयास यसैतर्फ केन्द्रित छ । यो अवधिमा विज्ञापनदाताबाट प्राप्त माया, विश्वास, साथ र सहयोगले पनि हामीलाई उत्साहित बनाएको छ । त्यसका लागि हामी आभारी छौं ।

काठमाण्डुपाटी डटकम सुरु भएको पहिलो वर्ष हामीले सुरक्षा र कूटनीतिसंग सम्बन्धित समाचार, विचार र अरु सामग्रीलाई महत्व दियौं । तर, दोस्रो वर्षमा प्रवेश गर्दैगर्दा हामीले यसको दायरा फराकिलो बनाउंदै देशको एक अग्रणी अनलाइन पोर्टलका रुपमा स्थापित गर्ने र सबै क्षेत्रलाई समेटने प्रतिवद्धता जनाएअनुसार अहिले  काठमाण्डुपाटीलाई ‘कम्प्लिट’ अनलाइन न्यूज पोर्टलका रुपमा विकास गरेका छौं ।

नेपाली अनलाइन मिडियाको विस्तार जुन रफ्तारमा भइरहेको छ, सँगसँगै यसको विश्वसनीयतामा पनि उसैगरी प्रश्न तेर्सिएको छ । तेस्रो वर्षमा प्रवेश गर्दैगर्दा हामी विश्वसनीयताको कसीमा खरो उत्रने र आफूले पस्कने सामाग्रीलाई विश्वसनीय बनाउंदै लैजाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।

पाठक, दर्शक र स्रोताको विश्वास आर्जन नै हाम्रो सबभन्दा ठूलो पूँजी हो । र, त्यसले नै हामीलाई जिम्मेवार वन्न प्रेरित गरेको छ ।मुलुक अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ ।हाम्रा लागि नितान्त नौलो व्यवस्थाको अभ्यास हो, यो ।

तर, यही अभ्यासभित्र भ्रष्टाचार र अरु कैयौं बेथिती तथा विसंगति मौलाएका छन् । हामी ती सबैको निरन्तर निगरानी गरिरहनेछौं र तिनलाई उजागर गर्दै विधिको शासनलाई बलियो पार्न सघाउ पुर्याउनु हाम्रो लक्ष्य हुनेछ ।

जम्माजम्मी दुई वर्षको हाम्रो यात्राले नै भन्छ, हामी सिक्ने क्रममै छौं । यो सिक्ने र अभ्यास गर्दै जाने क्रममा हामीबाट हुन सक्ने गल्ती र कमजोरीलाई सच्याएर अघि बढ्न हामीलाई कुनै हिनताबोध हुने छैन । हामी प्रण गर्छौं, उही र उस्तै गल्तीलाई फेरि नदोहोर्याउने ।

हाम्रा पाठक, दर्शक र स्रोताको बदलिंदो रुचिलाई समेत ख्याल गरेर काठमाण्डुपाटी तेस्रो वर्षमा प्रवेश गरेकै दिन आज हामी मल्टिमिडिया कन्टेन्टमा जोड दिने कुरा तपाईंहरुलाई जानकारी गराउन पनि चाहन्छौं ।

सुरक्षा र कुटनीतिक क्षेत्रको पहिलो अनलाइनको रुपमा परिचय बनाएको काठमाण्डुपाटी पत्रकारितामा नयां अभ्यासको थालनी गर्ने एउटा जमर्को थियो । सूचना प्रविधीमा भइरहेको तीब्र विकासको वर्तमान युगमा हरेक व्यक्तिका हात–हातमा समाचार, सूचना, विचार र मनोरन्जन पु¥याउने हाम्रो एकमात्र लक्ष्य हो । र, तेस्रो वर्षमा पाइला टेक्दै गर्दा हामी विगतमा राखेको त्यो लक्ष्यमा अझ बढी जोड दिन चाहन्छौं ।

सूचना प्रविधीको विकाससंगै पत्रकारिताका आयाम फेरिएका छन्, अझ भनौं, फराकिला भएका छन् । कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीबाट यही क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । अहिले थुप्रै अनलाइन, पत्रपत्रिका, रेडियो र टेलिभिजन बन्द भइरहेका समाचार आइरहेका छन् । चलिरहेकाहरु पनि अनेक संकटको सामना गरिरहेका छन् । यो संकटकै बीच पनि सूचना दिने चर्को होडबाजी भने कम भएको छैन । यही चर्को होडबाजीकै बीच हामी किन त भन्ने प्रश्न पनि उठ्ने गर्छ ।

हामी फरक धार बोकेर उभिने लक्ष्यका साथ आएका थियौं र काठमाण्डुपाटी डटकम त्यो फरक धारको रुपमा सुरक्षा र कुटनीतिक क्षेत्रका समाचार मूलप्रवाहमा समेट्ने लक्ष्यमा केही हदसम्म सफल भएको छ । विगत दुई वर्षमा हामीले यसलाई अरु अनलाइनभन्दा फरक बनाउने कोशिस गरेका छौं । फरक स्वादको त्यो बाटोलाई धेरैले रुचाएको हामीलाई अनुभूति भएको छ ।

दुई वर्षको यो अवधिमा काठमाण्डुपाटीका पाठक, दर्शक र स्रोताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । हामीले तपाईंहरुबाट प्राप्त सुझाव, सल्लाह र प्रतिक्रियालाई आफ्नो मार्गदर्शन ठानेका छौं । आगामी दिनमा राजनीतिक, सामाजिक, आर्थिक, खेलकूद, सुरक्षा र कूटनीतिकलगायतका क्षेत्रको गहिरो चिरफार गर्ने, सकारात्मक तथा नकारात्मक दुवै पक्षलाई उजागर गर्ने हाम्रो अभियान अझ चुस्त, सशक्त र प्रभावकारी हुने हाम्रो विश्वास छ ।

आगामी दिनमा हामी मुलुकका सामाजिक, आर्थिक, राजनीतिकलगायतका अरु कैयौं पाटामा पनि आफ्नो ध्यान केन्द्रित गर्नेछौं । देशमा बढिरहेको भ्रष्टाचार र आर्थिक अनियमितासंग हामीले कुनै सम्झौता नगरी, कसैको पक्षपोषण नगरी जिम्मेवार पत्रकारिता गर्नेमा कुनै कसर बांकी राख्ने छैनौ । त्यसका साथै अनलाइनलाई अझ व्यावसायिक र जिम्मेवार बनाउने हाम्रो कोशिस पनि जारी रहनेछ । तथ्यपरक पत्रकारितामार्फत् समाजलाई बाटो देखाउनेतर्फ हामी निरन्तर क्रियाशील हुनेछौं ।

पछिल्लो समय सरकार प्रेसप्रति अनुदार बनिरहेको अनुभूति भइरहेको छ । हामी सबल शासन ब्यवस्थाका लागि पूर्ण प्रेस स्वतन्त्रतालाई सर्वाधिक महत्वपूर्ण पक्ष ठान्छौं । यो तथ्यलाई नजरअन्दाज नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहन्छौं । पछिल्लो समय लोकतान्त्रिक व्यवस्थामाथि नै चुनौती थपिएको र नागरिकको स्वतन्त्रतालाई संकुचित गर्न खोज्ने अवस्था देखिएकाले हामी यो प्रतिकूलतासँग जुध्दै नागरिकको सुसूचित हुने हकको सुनिश्चितताका लागि नागरिककै आवाजलाई काठमाण्डुपाटीमार्फत् थप मुखरित गर्न प्रतिबद्ध रहनेछौं ।

हाम्रो दुइ वर्षको यात्रा हामीले तय गरेको लामो यात्रामा केवल एक खुडकिलो मात्र हो । हामीले निकै लामो यात्रा गर्नु छ र क्रमशः फैलिँदै जानु पनि छ । काठमाण्डुपाटीलाई नेपाली अनलाइन मिडियाको पंक्तिमा एउटा जिम्मेवार संस्थाका रुपमा विकास गर्ने सपनालाई पूरा गर्ने क्रममा हामीलाई तपाईंको साथ र सहयोग संधै आवश्यक पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement