प्रकाशकीय : काठमाण्डुपाटी पांचौं वर्षमा प्रवेश


पाँच वर्षअघि २२ असारमा फरक धारका सूचना पस्कने उद्देश्यका साथ काठमाण्डुपाटीको जग हालिएको थियो । सुरक्षा र कुटनीतिक क्षेत्रको पहिलो अनलाइनका रुपमा काठमाण्डुपाटी डटकमको यात्राको सुरुवात आफैमा नौलो र चुनौतीपूर्ण काम थियो । तर, हामीले चुनौती मोल्ने र नयाँ प्रयोग गर्ने साहस गर्यौ ।

आरवी मिडिया प्रा.लि.द्वारा प्रकाशित/प्रसारित काठमाण्डुपाटी आजबाट चौथो वर्ष पूरा गरेर पाँचौ वर्षमा प्रवेश गरेको छ । कुनै पनि संस्थाको जीवनमा पाँच वर्ष त्यति लामो समय होइन् । तर, यी पाँच वर्ष काठमाण्डुपाटीका लागि सिकाइ र चुनौतीका वर्षहरु रहे । हामीले सिक्ने र चुनौती मोल्ने अभ्यासबाट नयाँ सम्भावना पहिल्याउने प्रयास गर्यौं ।

काठमाण्डुपाटी डटकम सुरु भएको पहिलो वर्ष सुरक्षा र कूटनीतिसँग सम्बन्धित समाचार, विचार र रचनाहरुलाई महत्वका साथ प्रकाशित गरेका थियौं । तर, दोस्रो वर्षबाट हामीले यसको दायरा फराकिलो बनाउँदैं देशको अग्रणी अनलाइन पोर्टलका रुपमा स्थापित गर्ने र सबै क्षेत्रलाई समेटने प्रतिवद्धताअनुसार काम अगाडि बढायौं ।

‘बदलिदो युगको आवाज’का रुपमा काठमाण्डुपाटीलाई ‘कमप्लीट’ अनलाइन पोर्टलका रुपमा अगाडि बढायौं । पछिल्ला केही वर्षहरु नेपाली सञ्चारमाध्यमका लागि संक्रमणकालीन वर्षका रुपमा रहेका छन् । इन्टरनेटमा भएको द्रुततर विकासले छिनभरमै सूचनामा मानिसको पहुँचमा पुग्न थालेको छ । सूचनाको यो रफ्तारमाझ नेपाली अनलाइन मिडियामा विश्वसनीयता कायम गर्नुपर्ने ठूलो चुनौती पनि छ । हामी पाँचौ वर्षमा प्रवेश गर्दैगर्दा विश्वसनीयताको कसीलाई अझ बलियो बनाउँदैं लैजाने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं ।

मुलुकमा गणतान्त्रिक शासन व्यवस्था छ । तर, नीतिगत भ्रष्टाचार, अनुशासनहिनता, मनमानी मुलुकको सबैभन्दा डरलाग्दो समस्याका रुपमा देखिएको छ । जनताको शासन प्रणाली मानिने गणतन्त्रमा जनताको सेवक होइन्, शासक बन्ने खतरनाक तरिकाले प्रणालीमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना हुँदै गएको छ ।

यस्ता विसंगतिहरुको निरन्तर निगरानी र पर्दाफास गर्दै त्यसमा करेक्सनका लागि दबाब सिर्जना गर्नु हाम्रो दायित्व हुनेछ । राजनीतिक, सामाजिक, आर्थिक, खेलकूद, सुरक्षा, कूटनीतिकलगायतका क्षेत्रको गहिरो चिरफार र सरकारात्मक तथा नकारात्मक पक्षहरुलाई उजागर गर्ने हाम्रो अभियान अझ चुस्त, सशक्त र प्रभावकारी हुनेछ ।

त्यसका लागि काठमाण्डुपाटीलाई थप विश्वसनीय, भरपर्दो र प्रभावकारी सञ्चारमाध्यम बनाउने हाम्रो अठोट छ । काठमाण्डुपाटी टिम गल्ती र कमजोरीबाट शिक्षा लिने र त्यसलाई सच्याएर अघि बढ्न हमेशा तयार छ । समाजको बदलिदो स्वादअनुसार काठमाण्डुपाटी आफ्ना सामाग्रीहरुमा परिस्कृत गर्दै निरन्तर नयाँ दिन सजग छ । काठमाण्डुपाटीलाई अझ व्यवसायिक र जिम्मेवारी बनाउने प्रयास तथ्यपरक पत्रकारिता कसीलाई समातेर मात्रै पूरा हुनेछ ।

विगत चार वर्षमा काठमाण्डुपाटीलाई अन्य अनलाइनभन्दा भिन्न र फरक बनाउने कोशिस गरेका छौं । त्यही कोशिशको परिणाम नै मान्नुपर्छ, पछिल्ला चार वर्षमा हामीले पाठकको उत्साहप्रद सहभागिता र माया पाएका छौं । जसले हामीलाई अझ दृढतापूर्वक सूचना कर्ममा डट्ने उर्जा प्राप्त भएको छ । हामीलाई थुप्रै कोणबाट सुझाव, सल्लाह र प्रतिक्रियाहरु प्राप्त भएका छन् । जसप्रति हामी सदा आभारी छौं ।

लामो यात्रामा पाँच वर्ष त पाँच वटा खुडकिला मात्रै हुन् । आगामी वर्षहरुमा काठमाण्डुपाटीलाई थप ब्यापक बनाउने र फैलिने प्रयासमा हामी हुनेछौं । पाँच वर्षको उत्साहपूर्ण साथ, सहयोगका लागि पाठक, दर्शक, स्रोता, विज्ञापनदातालाई विशेष धन्यवाद दिन चाहन्छौं । तपाईंहरुका सल्लाह, सुझावलाई शिरोपर गर्दै हामीले पस्कने कन्टेन्टमा थप निखारता ल्याउने प्रण गर्दछौं । हाम्रा सहकर्मीहरुको साझा प्रयास यसैतर्फ केन्द्रित छ । अन्तमा काठमाण्डुपाटीको पाँचौं वार्षिकोत्सवकाे अवसरमा सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।

रोशन खड्का
अध्यक्ष
काठमाण्डुपाटी डटकम

प्रतिक्रिया दिनुहोस
Advertisement