करिब दुई अर्बको जग्गा किन्दै काठमाडौं प्रहरी, दुई महिनाभित्र आफ्नै जग्गामा सर्दै परिसर


काठमाडौं – काठमाडौं प्रहरीले पौने दुई अर्बको जग्गा किन्ने भएको छ । सरकारले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखालाई करिब पौने दुई अर्ब निकासा गरेपछि परिसरले भद्रकालीस्थित नेपाल खाद्य संस्थानको १५ रोपनी जग्गा र महाशाखाले नेपाल आयल निगमको टेकुस्थित नौ रोपनी जग्गा खरिद गर्ने भएको हो ।

केही दिनअघि मात्र सरकारले महानगरीय परिसरलाई एक अर्ब २० करोड र अपराध महाशाखालाई ६७ करोड ६७ लाख रुपैयाँ निकासा गरेको थियो ।

खाद्य संस्थानको जग्गा आगामी साता काठमाडौं परिसरको नाममा पास गरिने र महाशाखाले भने आइतबार नै निगमको नाममा रहेको जग्गा आफ्नो नाममा पास गर्ने प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

१२ वैशाख ०७२ को भूकम्पपछि काठमाडौं परिसर र महाशाखा पूर्ण रूपमा विस्थापित भएका थिए । हनुमानढोकास्थित प्रहरी कार्यालय भूकम्पले ध्वस्त बनाएपछि दुवै कार्यालय टेकुस्थित नेसनल ट्रेडिङको भवन र खाली रहेको उसैको जग्गामा अहिलेसम्म अस्थायी रूपमा बस्दै आएका छन् ।

काठमाडौं परिसरका अनुसार अबको दुई महिनाभित्र प्रहरीको अपरेसन शाखा भद्रकालीस्थित नेपाल खाद्य संस्थानको जग्गामा सर्ने र हिरासत कक्ष भने टेकुमै रहने छ । हनुमान ढोकाको इतिहास विशिष्ट भएकाले हनुमान ढोकामा भने नेपाल प्रहरीकै विशेष युनिट रहने एसएसपी सुवेदीले बताए ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले भूकम्पपछिको चार वर्ष अव्यवस्थित टहरोमै सञ्चालन भएपनि अब भने महाशाखा कार्यालय अत्याधुनिक बन्ने बाटो खुलेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement