काठमाण्डु–घरेलु टोली नेपालले काभा महिला भलिबल नेसन्स कपको दोस्रो सेमिफाइनलमा आज इरानसँग भिड्दैछ ।
नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार हुने दोस्रो सेमिफाइनल साँझ सवा ५ बजे सुरु हुनेछ ।
इरानसँगको भेट नेपाली टोलीका लागि लिग चरणमा भोगेको हारको बदला लिने अवसर समेत हो । आइतबार भएको लिग चरणको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।
प्रतिस्पर्धात्मक खेलमा नेपालले सर्भिस र डिफेन्समा गल्ती गर्दा लिगमा नै पहिलो हार व्यहोरेको थियो । उता इरान भने नेपालविरुद्ध लिग चरणकै नतिजा दोहोराउने प्रयासमा हुनेछ ।
आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्दैछन् । सो खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । तेस्रो जितसँगै भारत १० अंक सहित शीर्षस्थानमा छ । ९ अंक सहित नेपाल दोस्रो र ७ अंक भएको इरान तेस्रो स्थानमा छ । ४ अंक भएको श्रीलंका चौथो स्थानमा छ । अंंकबिहिन मालदिभ्स पाँचौ स्थानमा रहँदै लिगबाट बाहिरीसकेको छ ।
प्रतिक्रिया