काठमाण्डु-काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपाल र कीर्गिस्तान भिड्दैछन् ।
मालदिभ्सको मालेस्थित सोसल सेन्टरमा हुने खेल राति ९ बजेपछि सुरु हुनेछ ।
राउण्ड रोविनमा नेपाल कीर्गिस्तानसँग सोझो सेटमा पराजित भएको थियो । नेपाली टोली आजको खेलमा त्यो हारको बदला लिँदै फाइनल पुग्ने योजनामा छ ।
लिग चरणको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई ३–२ को सेटमा पराजित गरेपछि नेपालले कीर्गिस्तानलाई प्रतिद्वन्दी पाएको हो ।
च्याम्पियनसिपमा चार टोली मात्र सहभागी भएकाले सबै टोलीले सेमिफाइनल खेल्ने मौका पाएका हुन् ।
राउण्ड रोविनको अन्तिम खेलमा नेपालले भरेलु टोली मालदिभ्सलाई सोझो सेटमा पराजित गरेपछि तेस्रो स्थानमा रहँदै सेमिफाइनल खेल्न लागेको हो । नेपाली युवा टोली आफ्नो पहिलो खेलमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको थियो ।
आजै हुने पहिलो सेमिफाइनलमा शीर्ष स्थानको श्रीलंका र चौथो स्थानको मालदिभ्स खेल्नेछन् ।
प्रतिक्रिया