काठमाण्डुमा बालेनले गुण्डागर्दी शैलीमा गरिखान नदिएको कवाड व्यवसायीको गुनासो

काठमाण्डुमा बालेनले गुण्डागर्दी शैलीमा गरिखान नदिएको कवाड व्यवसायीको गुनासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कवाड व्यवसायी समाज नेपालले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले व्यवसाय गरेर गरिखान नदिएको भन्दै समाजले सोमबार मन्त्री गुप्तालाई ज्ञापनपत्र बुझाएको हो ।

काठमाण्डु महानगरपालिकाले विगत १८ महिनादेखि गुण्डागर्दी शैलीमा कवाड व्यवसायीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्दै आएको भन्दै उनीहरूले आफ्नो पेशागतसहित जिउधनको सुरक्षाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग हारगुहार गरेका हुन् ।

‘काठमाण्डु महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी, संकलक मजदुरहरूमाथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरू भत्काउने, संकलक र मजदुरका साइकल र सामान जफत गर्ने काम गरिरहेको छ,’ ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष राम केवल गुप्ताले भने, ‘काठमाण्डु महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र संकलहरूको टाउको फुटेको र अङ्गभङ्ग भएका छन् । खासगरी भन्ने हो भने काठमाण्डु महानगरका मेयर बालेन्द्र शाहले काठमाण्डु महानगरबाट गरीब जनता गरिखाने वर्गलाई हटाउने खोजेका छन् ।’

कवाड व्यवसायी र संकलकमाथि भइरहेको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षा गरिदिन उनीहरूले मन्त्री गुप्तासमक्ष अनुरोध गरेका छन् । उनीहरूले कवाडी व्यवसायीहरू नेपाल सरकारको प्रचलित कानूनबमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाण्डु महानगरपालिकाको विभिन्न वडाहरूमा कवाड व्यवसाय सञ्चालन गर्दै आएको, वर्षौंदेखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरूले सरकारलाई तिर्नुपर्ने कर तिर्दै आएको, देशमा सञ्चालित उद्योगहरूलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ति गर्दै आएको, वातावरणीय सरसफाइमा योगदान रहँदै आएको र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको भूमिका खेल्दै आएको जानकारी पनि मन्त्री गुप्तालाई गराएका छन् ।

अध्यक्ष गुप्ताका अनुसार हाल कवाड व्यवसायमा १ लाख मानिस प्रत्यक्ष रोजगारमा आवद्ध छन् ।