अष्टलक्ष्मी नेतृत्वको सरकार अझै डेढ बर्ष मज्जाले टिक्छः कानुनमन्त्री पाण्डे (अन्तर्वार्ता)


काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले आज बिहान पदबाट राजीनामा दिएका छन् ।

मन्त्रीको राजीनामापछि एमाले संस्थापन पक्ष र मुख्यमन्त्री शाक्य निकै अप्ठेरोमा परेको बताइएको छ । हिजो बागमती प्रदेशका एमाले सभासदमध्ये १२ जनाले नेकपा एकीकृत समाजवादी रोज्दै सनाखत गरेका थिए । अब भदौ २ गते मुख्यमन्त्रीमा नियुक्त शाक्यले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने देखिएको छ ।

प्रदेशमा रहेका विपक्षी दलहरु केन्द्रको गठबन्धनलाई कायमै गर्ने पक्षमा छन् । यो संगै प्रदेशको १ सय ९ सदस्यीय सभामा एमालेका ५६ जना सदस्यमध्ये १२ जनाले एकीकृत समाजवादी रोजेपछि ४४ जनामा सीमित भएको छ ।

आज राजीनामा दिएका मन्त्रीले पनि माधवलाई साथ दिए भने एमालेसंग ४३ सदस्य मात्र रहने निश्चित देखिएको छ । यिनै बिषयमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन र भौतिक पूर्वाधार विकास मन्त्री केशव राज पाण्डेसँग काठमाण्डुपाटीले गरेको कुराकानीको सम्पादित अंशः

तपाई सहभागी भएको सरकार अल्पमतमा पर्‍यो नि ?

कसले भन्यो अल्पमतमा पर्‍यो भनेर ? १२ जनाको बहुमत हुन्छ र ?

केन्द्रको गठबन्धन प्रदेशमा पनि बलियो रुपमा छ । त्यसलाई हेर्दा तपाईहरु त कमजोर देखिनुहुन्छ नि ?

यो त पछिको कुरा हो । पछि के हुन्छ को कता जान्छ भन्ने कुरा अहिल्यै कसरी भन्ने ? कि १२ जनाको बहुमत पुग्छ भनेर तपाईहरुले भनिदिनुपर्‍यो । होइन भनि १२ जनाको कसरी बहुमत पुग्छ ?

यदी १२ जना जानुनै भयो भने पनि कसरी अल्पमतमा पर्छ ? अर्कोतिर धेरै विकल्पहरु बाँकी छन् । त्यसैले यो केहिपनि होइन । १२ जनाले बहुमत पुग्दैन । बहुमत पुग्न ५६ जना सांसद चाहिन्छ । जसले प्रदेशसभामा सांसदको संख्या ५६ जना पुर्‍याउन सक्छ उसैको बहुमत पुग्छ । त्यसपछि हामीले पनि हामी अल्पमतमा परेछौँ भनेर भनौला ।

तपाईहरुको पक्षमा बहुमत पुग्छ भन्नेमा विश्वस्त हुनुहुन्छ हो ?

हामी त १ सय प्रतिशत नै विश्वस्त छौँ । हामी ढुक्क छौँ । अहिलेको अष्टलक्ष्मी नेतृत्वको सरकार अझै डेढ बर्ष ढुक्कले चल्छ । कुनै अवरोध हुँदै मजाले चल्छ ।

एमाले नेतृत्वको सरकार टिक्छ भन्ने आधार के छ ? अहिले सवै प्रदेशहरुमा एमालेले नेतृत्व गुमाउँदै छ ?

तपाईले अहिले १२ जनाले एमाले छाड्नुभयो भन्नु भो त्यो पनि आधिकारीक रुपमा जानकारी आइसकेको छैन । भोली के होला त्यो आफ्नो ठाउँमा छ । अर्को भनेको १२ जनाले छोड्नुभयो । तपाईले भनेकै कुरालाई एकछिन विश्वास गर्ने हो भने पनि हामीसंग ४४ जना हुनुहुन्छ । ४४ जना भएको समूहले बाँकी १२ जना ल्याउन कुनै समस्या छैन ।

त्यसैले यसमा कुनै समस्या छैन् । हिजो हामीले यो कल्पना गरेकै थियौँ । हामीले पनि त कल्पना अनुसारको योजना बनाएका छौँ । त्यसमा छलफल पछि यो सरकारलाई टिकाउन कहाँबाट के गर्न सकिन्छ भनेर छलफल गरेपछि मात्रै हामीले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएका हौँ ।

अन्य दलहरुसंग सहमति भएको छ भन्न खोज्नुभएको हो ?

राजनीतिमा छलफल त भइहाल्छ नि । हामीले प्रदेशमा रहेका अन्य दलका सांसदहरुसंग पनि छलफल गरेका छौँ । उहाँहरुसंग भएको छलफल पछि नै हामी हाम्रो सरकार टिकाउन सक्छौँ भन्नेमा विश्वस्त भएका हौँ ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि मुख्यमन्त्रीमा दाबी गरिसक्नुभयो । अब मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउने आधार त देखिदैन नि ?

सरकारमा दाबी गर्न जसले पनि पाउँछ । यदी उहाँले ५६ जना सांसदको बहुमत जुटाउनुभयो भने न मुख्यमन्त्री बन्नुहुने हो । पहिला बहुमत जुटाएर आउनुपर्‍यो नि । मैले अघिपनि भनिसके यो सरकार अझै एक बर्ष ढुक्कले चल्छ ।

अष्टलक्ष्मी शाक्य हिजोका दिनमा माधव नेपालको पक्षमा खुलेरै लाग्नुभएको थियो । यता नेपालपक्षका नेताहरुले पनि शाक्य आफुहरुसंगै आउने दाबी गरिरहेका छन् । यदी उहाँले नयाँ पार्टी रोज्नुभयो भने ?

हिजो को कहाँ थियो भन्ने कुरा छाड्नुस न । हिजो एमालेका महासचिव बनेका माधव कुमार नेपालले नै पार्टी छाडेर जानुभएको छ अनि ट्यागको कुरा गरिरहनुहुन्छ ? तपाईले ट्याग हटाइदिनुस् । १५ बर्ष महासचिव बन्ने अनि पार्टी छोडेर जानेलाई पार्टीको ट्याग नलाग्ने अनि पार्टीमै रहिरहनेहरुलाई ट्याग लाग्ने कुरा हुन्छ ? अर्को कुरा हामी कुनै पनि प्रदेशसभाका सदस्यहरु जो पार्टीको नेताको रुपमा आउनुभएको छ ।

उहाँहरुलाई थुनेर लठ्ठी भेडाबाख्राजस्तो लगाएर राखेर निर्णय गर्ने पक्षमा हामी छैनौ । हामी सबै स्वतन्त्र छौँ हामी आफ्नो निर्णय लिन सक्छौँ । हैसियत त हामीले देखेकै छौँ । ४० प्रतिशत संसदिय दल र पार्टीको केन्द्रिय कमिटी भन्ने ठाउँमा २० प्रतिशत संसदिय दल वा पार्टीका स्थानिय तहकाले पनि रोज्न पाउने भनेर आउनेहरुको हैसियत हामीले नदेखेका हौँ र ?

प्रतिक्रिया दिनुहोस
Advertisement