सर्वाेच्चमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी


काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी गरेका छन् ।

सभामुखको समेत समर्थन लिएर अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा वैशाख १० गतेका लागि पेशी तोकिएको छ ।

मुख्यमन्त्री अधिकारीले सर्वोच्चमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारी गरेका सरकारका प्रवक्ता समेत रहेका विना विभागीय मन्त्री हरिबहादुर चुमानले बताए ।

उनले भने, ‘अहिले पुर्‍याउने भनेकै संख्या हो । त्यो संख्या पुग्नेबित्तिकै मुख्यमन्त्रीज्यूले विश्वासको मत लिनुहुन्छ । सकेसम्म १० गतेभन्दा अगाडि नै विश्वासको मतका लागि सबै दलसँग छलफलमा जुटिरहेका छौं ।’

एमाले संसदीय दलका नेता अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका हुन् । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्तिका लागि आह्वान हुँदा अधिकारीले एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ ‘दीपक मनाङे’ समेत गरी ३१ जना सांसद पुर्‍याएर प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेश गरेका थिए ।

दाबी पेश गर्दा सभामुखलाई गणना गर्न नहुने बताउँदै नेपाली कांग्रेसले प्रदेश प्रमुखलाई असहमति पत्र बुझाएकोमा मुख्यमन्त्री नियुक्तिपछि पाण्डे अदालत पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement