चार वर्ष आईजीपी भएर सम्झन लायक काम नगरी विदा भए खनाल,केसीलाई निमित्तको जिम्मेवारी


काठमाण्डु- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवकास पाएका छन् । चार वर्षअघि महानिरीक्षक नियुक्त भएका खनालले सोमबार अवकास पाएका हुन् । उनलाई सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले बिदाई गरेका थिए ।

कार्यक्रममा खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक केसीलाई संगठनको सम्पूर्ण जिम्मेवारी बर–बुझारथ समेत गरेका छन् । सशस्त्रमा आजबाट केसीले निमित्तको जिम्मेवारी समेत पाएका छन् ।

बिदाई कार्यक्रममा सम्बोधन गर्दै खनालले सशस्त्र यो स्थानमा पुग्नुमा सकल दर्जाका सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान रहेको बताए ।

उनले सशस्त्र प्रहरी कर्मचारीहरु उत्तरी सीमानाको हिमाली क्षेत्रको कठ्याङ्ग्रीने जाडोदेखि दक्षिणी तराईको हावाहुरी तथा प्रचण्ड गर्मी रहेका ठाउँहरुमा व्यक्तिगत स्वार्थलाई थाती राखी अहोरात्र खटिई आम नागरिकको सुरक्षा, सीमा अपराध नियन्त्रण, आपद् विपत् पीडित नागरिकको उद्वारमा खटिएकोमा सबैतिरबाट प्रशंसा भएको दावी गरे ।

विदाई कार्यक्रममा लामो भाषण गरेका खनाललाई तत्कालिन नेकपाको सरकारले चार वर्ष अघि सशस्त्र प्रहरीको महानिरिक्षक नियुक्त गरेको थियो । खनाल पुरा कार्यकाल काम गर्न पाउने भाग्यमानी आईजीपी हुन् ।

चार वर्षको लामो समय महानिरीक्षक भएका खनालको कार्यकालमा भने सम्झन लायक कुनै काम भने हुन् सकेन् । उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएर केसीलाई आईजीपी बनाउन खोजेपनि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको दवावमा उनि जोगिएका थिए ।

खनाल र दाहालका नातेदारबीच देशभित्र र विदेशमा व्यवसायिक साझेदारी रहेको स्रोत बताउंछ । दाहालकै बलमा जोगिएका खनाल पछि नेपाली कांग्रेसको महाधिवेशनमा समेत सक्रिय रुपले लागिएका थिए ।

उनले पुरै कार्यकाल संगठनलाई एकताबद्ध र मजबूत बनाउनेमा भन्दा कुर्सी जोगाउनेमै समय खर्चेको उनका आलोचकहरु बताउंछन् । खनालले संगठनको एकतालाई कमजोर बनाएको,आफु निकटकालाई च्यापेको र विरोधीमाथी पुर्वाग्रह सांधको र उनको कार्यकालमा राजनीतिक हस्तक्षेप संगठनभित्र बढेको बताइन्छ ।

नेपाल प्रहरीबाट सशस्त्रमा आएका खनालको पालामा नेपाली सेना र नेपाल प्रहरीसंग समेत सुमधुर सम्बन्ध भएन् । आफ्नो फाइदाका लागि जे पनि गर्न सक्ने क्षमता भएका खनाल माओवादीकै सिफारीसमा एआईजीको एकल दरबन्दी सिर्जना गरेर बढुवा भएका थिए । त्यसभन्दा पहिला तत्कालिन गृहमन्त्री विजय गच्छेदारले उनलाई डिआईजीमा बढुवा गरेका थिए ।

उनको कार्यकालमा सरुवा बढुवामा समेत मोलमोलाई हुने गरेको स्रोत बताउंछ । त्यतिमात्र होईन सशस्त्रको खरिद प्रक्रियामा समेत मिलेमतोमा काम गरेको, भूकम्पको बेला आएको सहयोगमा समेत आर्थिक लाभ लिएको आरोप उनिमाथी छ । खनालले केन्द्रीय लेखामा रहेका इन्सपेक्टर गणेश मल्लमार्फत आर्थिक लाभ लिने गरेको सशस्त्र स्रोतको दावी छ । खनालविरुद्ध अख्तियारमा पटक पटक उजुरी समेत परेको छ ।

खनालले अवकासपछी समेत आफुले राजनीतिक नियुक्ति पाउने निकटस्थहरुसंग बताउने गरेका छन् । उनको माओवादी केन्द्रका अध्यक्ष दाहालसंग सुमुधर सम्बन्ध छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement