काठमाण्डु– गर्मी मौसम सुरु भएसँगै बजारमा खरबुजाको माग ह्वात्तै बढेको छ । रसिलो, गुलियो र शरीरलाई शीतलता दिने भएकाले गर्मीयाममा खरबुजा धेरै रुचाइने फलमध्ये एक बनेको छ । मुख्य सिजनमा नेपाली उत्पादनले बजार धान्ने गरे पनि अफसिजनमा भने भारतबाट खरबुजा आयात हुने गरेको व्यापारीहरू बताउँछन् ।
कालीमाटी फलफूल तथा तरकारी बजारसहित देशका प्रमुख थोक बजारहरूमा दैनिक हजारौँ किलो खरबुजा बिक्री हुने गरेको छ । थोक बजारमा यसको मूल्य प्रतिकिलो करिब ९० रुपैयाँसम्म पुग्ने गर्छ । परम्परागत रूपमा तराई क्षेत्रमा मात्रै सीमित मानिएको खरबुजा खेती अहिले भने पहाडी जिल्लासम्म विस्तार हुन थालेको छ ।
यही परिवर्तनको उदाहरण बनेको छ नुवाकोटको बानियाटार । केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि थोरै मात्रामा उत्पादन गरिने खरबुजा अहिले त्यहाँका किसानहरूको आम्दानीको प्रमुख स्रोत बन्न थालेको छ ।
पञ्चकन्या गाउँपालिका-१ बानियाटार अहिले व्यवसायिक खरबुजा खेतीका कारण परिचित बन्दै गएको छ । परम्परागत खेतीसँगै किसानहरूले नगदे बालीका रूपमा खरबुजा उत्पादन गर्न थालेपछि त्यहाँको कृषि प्रणालीमै परिवर्तन देखिन थालेको छ ।
स्थानीय कृषक केशव ढकाल केही वर्षदेखि व्यवसायिक रूपमा खरबुजा खेती गर्दै आएका छन् । उनले आधुनिक मल्चिङ प्रविधि प्रयोग गरेर खेती गरिरहेका छन् । प्लास्टिक मल्चिङ प्रयोग गर्दा माटोको चिस्यान जोगिने, झारपात कम हुने र उत्पादन बढ्ने भएकाले यो प्रविधि प्रभावकारी बनेको उनी बताउँछन्
।
यस वर्ष उत्पादन राम्रो भएको भन्दै उनी अहिले खरबुजा बिक्रीको तयारीमा छन् । उनी भन्छन् नेपालमै उत्पादन भएको खरबुजा खाऔँ, स्वस्थ बनौँ अनि रमाऔँ, नुवाकोटमै खरबुजा उत्पादन हुन थालेपछि तराई र भारतबाट आउने खरबुजाको आयातसमेत घट्दै गएकोस्थानीय व्यवसायीहरू बताउँछन् । जिल्लामै उत्पादित ताजा र सस्तो खरबुजा सहज रूपमा उपलब्ध हुन थालेपछि अहिले नुवाकोटका अधिकांश फलफूल पसल स्थानीय उत्पादनले भरिन थालेका छन् ।
विदुर चोकका फलफूल व्यवसायी कृष्ण डङ्गोलका अनुसार बाहिरबाट आउने खरबुजा लामो समय ढुवानीमा बित्ने भएकाले ताजापन कम हुने समस्या हुन्छ ।बाहिरबाट आएको खरबुजा महँगो पनि पर्छ । कतिपयमा विषादी र सुई प्रयोग गरिएको भन्ने गुनासोआउँछ । त्यसैले उपभोक्ताले जिल्लाकै खरबुजा बढी खोज्ने गरेका छन् उनले भने । उनका अनुसार जिल्लामै उत्पादित खरबुजा प्रतिकेजी २५ देखि ४० रुपैयाँसम्ममा बिक्री भइरहेको छ भने बाहिरबाट आएको खरबुजा ६० रुपैयाँभन्दा बढी पर्ने गरेको छ ।
कृषि प्राविधिक भुवन तिमिल्सिनाका अनुसार पञ्चकन्या गाउँपालिकाको बानियाटार, सिमराफाँट र चौघडाफाँट क्षेत्रमा हरेक वर्ष माघ महिनामा आलु खनेपछि खरबुजाको बिरुवा रोप्ने गरिन्छ । पछिल्लो दुई वर्षयता किसानहरू हिउँदे धान छाडेर नगदे बालीका रूपमा खरबुजा खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
स्थानीय कृषक रामकुमार राईका अनुसार सिमराफाँट क्षेत्रमा मात्रै यस वर्ष करिब एक लाख खरबुजाका बिरुवा रोपिएका छन् । उनीसँगै टीकाबहादुर राई, रत्नबहादुर राईसहित करिब ३० जना किसान व्यवसायिक रूपमा खरबुजा खेतीमा संलग्न छन् । अहिले उनीहरूलाई उत्पादन बिक्री गर्न भ्याइनभ्याइ छ । विदुरस्थित लक्ष्मी फलफूल सेन्टरका व्यवसायी मोतीलाल दुलालका अनुसार यस वर्ष जिल्लामा बाहिरबाट आउने खरबुजा निकै कम भएको छ । स्थानीय उत्पादनले नै बजार धान्न थालेपछि उपभोक्ताले ताजा र सस्तो खरबुजा सहज रूपमा पाउन थालेका छन् ।
छोटो समयमै राम्रो आम्दानी दिने, स्थानीय बजारमै उच्च माग हुने र उत्पादन पनि बढ्दै गएपछि नुवाकोटमा खरबुजा खेती किसानहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।स्थानीय कृषक माधव लामिछानेका अनुसार सुरुमा रहरका रूपमा १५ वटा बिरुवा लगाइएको थियो ।उत्पादन राम्रो भएपछि अहिले गाउँभरि नै यसको व्यवसायिक खेती विस्तार भएको छ ।
पहिला काठमाण्डुबाट ल्याएर खान्थ्यौँ, अहिले हामीले उत्पादन गरेर उतै पठाउँदा खुशी लाग्छ, उनले भने, अहिले त आलु खेतीजस्तै खरबुजाको खेती पनि गाउँभरि फैलिएको छ ।उनका अनुसार किसानहरूले बगैँचा नै ठेक्कामा दिने, वा बिहानै गाडी लिएर काठमाडौँ पुगेर बिक्री गर्ने गरेका छन् । बिक्री सकिएपछि साँझतिर फेरि गाउँ फर्किने चलन छ ।
कतिपय किसानहरूले भने उत्पादन भएको खरबुजा काठमाण्डुसम्म लैजानै नपर्ने अवस्था आएको बताउँछन् । स्थानीय बजारमै माग बढ्न थालेपछि उनीहरू झन् उत्साहित बनेका हुन् । स्थानीय कृषक कान्छा राई भन्छन मैले त काठमाडौँ लानै पाउँदिनँ । सबै यतै खरानीटार, बट्टार, विदुर, रामती र सातबिसेतिर लगेर सकिन्छ ।
स्थानीय बजारमै राम्रो बिक्री हुन थालेपछि ढुवानी खर्च घटेको छ भने किसानहरूले प्रत्यक्ष लाभ पनि लिन थालेका छन् । गर्मीयाममा सडक किनारमै खरबुजा बिक्री गर्ने किसानहरूको संख्या अहिले उल्लेख्य रूपमा बढेको छ ।
पञ्चकन्या गाउँपालिकामा परम्परागत रूपमा धान, मकै, गहुँ, तोरी र आलुलाई मुख्य खेतीका रूपमा लिने गरिन्छ । विशेषगरी आलु खेती यहाँको प्रमुख आम्दानीको स्रोत मानिन्छ । तर पछिल्लो समय आलुसँगै खरबुजा खेती पनि किसानहरूको रोजाइमा पर्न थालेको छ । छोटो समयमा राम्रो आम्दानी दिन थालेपछि धेरै किसान व्यावसायिक रूपमा यसको खेतीतर्फ आकर्षित भएका छन् ।
काठमाण्डु देखि बानियाटार पुग्न करिब दुई घण्टाको दूरी छ । सडक पहुँच सहज भएपछि यहाँ उत्पादन हुने खरबुजासहित धान, मकै, गहुँ, आलु, तरकारी र अन्य फलफूल बाहिरी बजारसम्म र्पुयाउन सहज भएको स्थानीयहरू बताउँछन् ।
अहिले बानियाटारमा घरैपिच्छे खरबुजा खेती गर्ने किसान भेटिन्छन् । घरअगाडि थुपारेर बिक्रीका लागि राखिएका हरिया पहेंला खरबुजाले सडक किनार नै आकर्षक देखिन्छ । स्थानीय मनमती पाण्डेका अनुसार यहाँको खरबुजा अर्गानिक, स्वादिलो र सस्तो भएकाले ग्राहकको आकर्षण बढेको छ ।
किलोको २५ रुपैयाँ मात्रै हो । काठमाण्डुमा पाइने जस्तो खल्लो होइन, निकै गुलियो छ, उनी भन्छिन्बा टोमा गुड्ने गाडी रोकेर मानिसहरूले किन्छन् । बेलुकासम्म सबैजसो सकिन्छ ।
गर्मी मौसममा खरबुजा खेती छोटो समयमा राम्रो आम्दानी दिने कृषि व्यवसायका रूपमा स्थापित हुँदै गएको छ । सामान्यतया ६० देखि ९० दिनभित्र उत्पादन लिन सकिने भएकाले किसानहरू यसको खेतीतर्फ आकर्षित भएका हुन् ।
खरबुजाका लागि बालुवा मिसिएको न्यानो माटो उपयुक्त मानिन्छ । नदी किनारको वगर क्षेत्र यसको उत्पादनका लागि अझ प्रभावकारी हुने कृषकहरू बताउँछन् । बानियाटार क्षेत्रमा तादी खोलाको पानी सिँचाइका लागि पर्याप्त रहेको छ ।
स्थानीय कृषक लक्ष्मी पोखरेलका अनुसार उत्पादन अझ बढेमा कोल्डस्टोरको व्यवस्था गरेर बजार व्यवस्थापन गर्ने योजना पनि बनाइएको छ । खेती प्रणालीमा आएको परिवर्तनसँगै नुवाकोटको बानियाटार अहिले खरबुजा उत्पादनको नयाँ केन्द्रका
रूपमा परिचित बन्न थालेको छ । तराईमा मात्रै सीमित मानिएको यो खेती अब पहाडी जिल्लाहरूमा पनि सम्भावनाको नयाँ ढोका खोल्दै गएको किसानहरूको अनुभव छ ।




प्रतिक्रिया