खरिपाटी क्वारेन्टाइन : ‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’


काठमाडौं- कोभिड नाइन्टिन (कोरोना भाइरस)को प्रकोप फैलिएको चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपालीको दैनिकी खरिपाटीमा खेलकुदमा बितिरहेको छ । रोग फैलने त्रास रहेका वरपरका वासिन्दाले विस्तारै कुरा बुझ्न थालेका छन् ।

स्थानीय रामलाल महर्जन भन्छन्, “बिरामी त होइन रहेछन्, किन यहाँ ल्याएको होला ? घरै लगे पनि हुने थियो । रोग सर्छ भन्ने कुरा हल्ला मात्रै जस्तो लाग्यो ।” उनले त्यति रमाइलो गरेर बसिरहेकाहरूलाई रोगी भन्न नसक्ने बताए ।

हुन पनि चीनबाट आएका नेपालीको दैनिकी मस्तीले बितेको छ । उनीहरूलाई सहज होस् भन्ने उद्देश्यले सरकारले इन्टरनेट, टेलिभिजन, विभिन्न खेलकुदका सामग्रीहरूको व्यवस्थासमेत गरिदिएको छ । क्वारेन्टाइनमा बस्ने नेपालीले आफूले सोचेभन्दा पनि धेरै राम्रो व्यवस्थापन गरेकोमा सरकारको प्रशंसासमेत गरिरहेका छन् ।

सोमबार भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुग्दा रमाइलो दृश्य देखिन्थ्यो । क्वारेन्टाइनमा बसेकाहरूको तीन टोली क्वारेन्टाइनको छतमाथि बसेर क्यारामबोर्ड खेलिरहेका देखिन्थे । केही लुडो, केही ब्याडमिन्टनसमेत खेलिरहेका थिए । सरकारले विभिन्न क्षेत्रका मानिसलाई क्वारेन्टाइन व्यवस्थापनमा खटाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा  छ।

प्रतिक्रिया दिनुहोस
Advertisement