आठौ राष्ट्रिय खेलकुदका विजयी खेलाडीलाई प्रधानसेनापतिद्वारा पुरस्कार वितरण


काठमाडाैं-  २०७५ चैत्र २७ बाट २०७६ वैशाख ११ गतेसम्म खेलकुद परिषद्को आयोजनामा प्रदेश नं.५ को विभिन्‍न स्थानहरुमा सम्पन्‍न भएको आठौ राष्ट्रिय खेलकुद २०७५ मा सहभागी भई विभिन्‍न पदक प्राप्‍त गर्न सफल त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन् ।

शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा आयोजित एक समारोहकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाको राष्ट्रिय खेलकुदलाई सहयोग पुर्‍याउने एक महत्वपूर्ण जिम्मेवारी भएको बताउंदै पदक प्राप्‍त गर्ने सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुका साथै स्वास्थ्यको लागि खेलकुद र राष्ट्रका लागि खेलकुदू तथा “Sports for Friendship” भन्‍ने कुरालाई मनन् गर्दै Sportsmanship Spirit लाई कायम राखी राष्ट्रिय स्तरका खेलकुदमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरका खेलकुदहरुमा पदक जित्‍ने लक्ष्य राखी थप मेहनत र लगनसिलताका साथ अगाडि बढ्नु पर्ने कुरामा जोड दिएका थिए।

सोहि क्रममा विभिन्न साहसिक खेलकुदलाई एकत्रित गरी थप व्यवस्थित बनाउन नेपाली सेनाले Adventure Club को स्थापना गर्ने र Sports Company को सम्भाव्यता बारे अध्ययन गरी स्पष्ट रणनीति एवं कार्य योजना बनाई खेलकुदको विकास गर्न नेपाली सेनाको ‘Sports Vision 2030’ तयार गर्ने कार्य भईरहेको समेत जानकारी गराएका थिए

उक्त पुरस्कार वितरण समारोहमा नेपाली सेनाका रथीबृन्द, पूर्व प्रधानसेनापतिहरु, युवा तथा खेलकुद मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि, सञ्‍चारकर्मीहरु, अधिकृत वर्ग र त्रिभुवन आर्मी क्लबका प्रशिक्षक तथा खेलाडीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।१४ दिनसम्म सञ्‍चालन भएको उक्त खेलकुद प्रतियोगितामा नेपाली सेनाका खेलाडीहरुले विभिन्‍न विधामा गरी १४८ स्वर्ण, ८४ रजत र ७२ कास्य गरी जम्मा ३०४ पदक प्राप्‍त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement