काठमाण्डु-‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका साथ १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु गरिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले छदेखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्थाको लेखाजोखा गर्दै शीघ्र कुपोषण तथा मध्यम कुपोषणको जोखिम समयमै पहिचान गरी आवश्यक उपचार तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले अभियान सञ्चालनमा ल्याएको हो।
वैशाख १५ गतेदेखि सुरु भएको अभियान देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालन भइरहेको छ। पोषण लेखाजोखा कार्य स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा गरिनेछ।
अभियानका क्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका लक्षित बालबालिकाको विवरण संकलन गर्नुका साथै आवश्यक स्वास्थ्यकर्मी टोली र सामग्री व्यवस्थापनसहित सूक्ष्म योजना तयार गर्नेछन्।
लेखाजोखा कार्यका लागि डिजिटल तौल मेसिन, उचाइ तथा लम्बाइ मापन बोर्ड र पाखुराको घेराइ नाप्ने टेप जस्ता आधुनिक उपकरण प्रयोग गरिनेछ। यसबाट प्राप्त तथ्याङ्कले उच्च जोखिमयुक्त क्षेत्र पहिचान गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।
मन्त्रालयले ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण जाँच अनिवार्य रूपमा गराउन अभिभावकलाई आग्रह गरेको छ। अभियान वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ।




प्रतिक्रिया