यौन सम्पर्कको लागि ‘खुलेआम हुन्छ मोलमोलाई’


काठमाडौ‌- केही दिनअघि नवलपरासीको सुनवल नगरपालिका २ भुमहीस्थित त्रिदेव रेस्टुरेन्ट एण्ड बारमा प्रहरीले मध्यरातमा छापा मारेर ३ युवती नियन्त्रणमा लिएको थियो। व्यावसायिक रुपमा यौन क्रियाकलाप सञ्चालन भएको सूचना र स्थानीयको गुनासो आएपछि प्रहरीले छापा मारेको हो।

प्रहरीले रेस्टुरेन्टबाट प्रयोग भएका र नभएका अस्थायी साधन तथा वेश्यावृत्तिमा प्रयोग हुने प्रमाणसमेत फेला पारेको छ। भुमहीमात्र होइन, पूर्वपश्चिम राजमार्ग आसपासका केही होटल तथा सीमावर्ती क्षेत्रमा यौनजन्य क्रियाकलाप बढो छ।

नियन्त्रणमा लिइएका युवतीले रेस्टुरेन्ट सञ्चालकले आफूहरुलाई यौन व्यवसायमा लगाएर ग्राहकबाट एकमुष्ट रकम लिने गरेको बताएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ। उनीहरुले भने निकै कम रकम पाउँछन् । प्रहरीलाई पनि युवतीले त्यही बयान दिए ।

रेस्टुरेन्ट मालिक फरार छन्। फरार सञ्चालकमध्ये देवबहादुर थापामगरलाई प्रहरीले पक्राउ गरेर मानव बेचविखन तथा ओसारपसार कसुरअन्तर्गत अदालत पेश गरेको छ । सञ्चालकमध्येकी महिला भने अझै फरार छन्।

जिल्ला प्रहरीका प्रमुख एसपी मुकुन्द आचार्यका अनुसार मदिरा सेवन गरेर रातभर होहल्ला गर्ने, खुल्ला बस्तीसँगै रहेको रेस्टुरेन्टमा यौन क्रियाकलापका लागि बार्गे्निङ नै हुने गरेको छ । त्यसले सामाजिक सद्भाव र मर्यादा नै खलबलिएको गुनासो आएपछि जिल्लाको टोलीले नै अप्रेसन गरेको बताए।

‘रेस्टुरेन्टको नाममा वेश्यावृत्ति बढेको जनगुनासो र पर्याप्त सूचनाका आधारमा छापा मार्दा व्यावसायिक रुपमै वेश्यावृत्ति भइरहेको पाइयो,’ उनले भने, ‘नियन्त्रणमा रहेकाले समेत कसुर कबुल गरेर निश्चित रकम लिएर यौन सम्पर्क राख्ने गरेको स्वीकार गरेपछि मानव बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरिएको हो।’

यसअघि पनि सुनवल क्षेत्रमा खुल्लमखुल्ला रेस्टुरेन्ट तथा लजमा यौन गतिविधि हुने गरेका थिए । त्यसमा पनि स्थानीयको दबाबमा प्रहरीले बन्द गराएको थियो । स्थानीयले भने प्रहरीकै संलग्नतामा यस्ता धन्धा भए पनि प्रहरीसँग कुरा नमिलेपछि मात्र छापा मार्ने गरेको आरोप लागाएका छन्।

दुई वर्षअघि त्यस्ता होटल तथा रेस्टुरेन्ट बन्द भएपछि बाहिरैबाट यौन जोडी मिलाइदिने र कमिसन लिने काम भए पनि पछिल्लो समय फेरि अड्डा नै बसालेर यस्तो काम हुन थालेको छ । सीमावर्ती जिल्ला भएकाले अधिकांश ग्राहक भारतीय छन्। शनिबार नेपाली र आइतबार भारतीय ग्राहकले यस्ता रेस्टुरेन्ट खचाखच भए पनि आवश्यक प्रमाण नहुँदा प्रहरीले सबै स्थानका क्रियाकलाप नियन्त्रणमा लिन सकेको छैन । पुरुष ग्राहकमात्र होइन, यस्ता स्थानमा पछिल्लो समय महिला ग्राहकसमेत भेटिन गरेको एक रेस्टुरेन्ट व्यवसायीले बताए।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ नवलपरासी अध्यक्ष घनलाल चापागाईले भुमहीमा छापा मारिएकोबारे आफूलाई थाहा नभएको बताए । ‘हामीले होटल तथा रेस्टुरेन्टमा आचारसंहितासमेत लागू गरेका छौं,’ उनले भने, ‘आचारसंहिताविपरीत काम गर्नेलाई कारबाही हुनुपर्छ, तर लाखौं लगानी गरेर सञ्चालन गर्ने व्यवसायी मर्कामा पर्नु हुँदैन ।’ खराब गर्ने सबैलाई नियमन गर्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
Advertisement