काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद् खुश्बु ओलीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बलात्कार सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन माग गरेकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आफूभन्दा अघि बोलेका राईको अभिव्यक्ति रेकर्डकबाट हटाउन उनले सभामुखसँग माग गरेकी हुन् । राईले बलात्कारजस्तो गम्भीर अपराधलाई सामान्यीकरण गर्न खोजेको उनको भनाइ थियो ।
ओलीले वैवाहिक सम्बन्धभित्र समेत जबर्जस्ती यौन सम्बन्धलाई स्वीकार गर्न नसकिने र ‘नो मिन्स नो’ को सिद्धान्त पुरुष तथा महिला दुवैका लागि समान रूपमा लागू हुने बताइन् ।
‘एकदमै मन मिलेका श्रीमान्–श्रीमतीको बीचमा पनि श्रीमतीले सम्बन्ध राख्न चाहिनन् भने ‘नो मिन्स नो’ (हुन्न भनेपछि हुन्न) भन्ने कुरा हामीले बुझ्न जरुरी छ । यो कुरा पुरुषका लागि पनि लागू हुन्छ,’ ओलीले भनिन् ।
सम्बन्ध जतिसुकै राम्रो भए पनि जबर्जस्ती हुनेबित्तिकै त्यो गलत हुने उनले स्पष्ट गरिन् । ‘सम्बन्ध जतिसुकै सुखी होस्, राम्रो होस्, जब सम्बन्धमा जबर्जस्ती आउँछ त्यो गलत हुन्छ । त्यहाँ कुनै चमत्कार हुँदैन,’ उनले भनिन् ।
राईले बलात्कार शब्दको स्पष्ट परिभाषा आवश्यक रहेको भन्दै ‘मन मिल्दा चमत्कार, मन नमिल्दा बलात्कार’ हुने धारणा राखेका थिए ।
उनले पुरुषहरू पनि बलात्कारका घटनामा पीडित हुने गरेको भन्दै कानुनी परिभाषा स्पष्ट पार्नुपर्ने बताएका थिए ।
‘यो बलात्कार भन्ने शब्दलाई व्याख्या गर्नुपर्छ स्पष्ट रुपमा भन्छु म चाहिं । ‘मन मिलेको बेलामा चमत्कार, मन नमिलेको बेलामा बलात्कार’ भन्ने हिसाबले पुरुषहरु पनि पीडित भएका छन्’, राईले भनेका थिए, ‘त्यस कारणले गर्दाखेरि बलात्कार भन्ने शब्दलाई । यो अपराधलाई स्पष्ट रुपमा व्याख्या गर्नुपर्छ ।’
ओलीले बलात्कारका घटनामा पीडितमाथि नै प्रश्न उठाउने प्रवृत्तिको समेत विरोध गरिन् । उनले बलात्कारका घटनामा हदम्यादको व्यवस्था न्यायोचित नरहेको बताइन् ।
बलात्कारजस्ता अपराध रोक्न कठोर दण्डको व्यवस्था हुनुपर्ने उनको भनाइ थियो ।
बलात्कार घटनामा मृत्युदण्डको व्यवस्था गर्नुपर्ने मागसमेत उनले गरिन् ।
नेपालको संविधानले मृत्युदण्डसम्बन्धी कानुन बनाउन निषेध गरेको उल्लेख गर्दै ओलीले यस विषयमा संवैधानिक तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थामाथि पुनः बहस आवश्यक रहेकामा जोड दिइन् ।
बलात्कृत पीडितको चरित्रमाथि नै प्रश्न उठाउने सामाजिक प्रवृत्तिको समेत ओलीले विरोध गरिन् ।
‘बलात्कृतमाथि नै प्रश्न उठाउने, उसको चरित्रमाथि प्रश्न उठाउने होइन, बलात्कारीलाई सार्वजनिक पदमा आउन रोक्ने कानुन बनाउनुपर्छ,’ ओलीले भनिन् ।
निर्मला, इनिसा र गरिमा बलात्कारका घटनाको प्रसंग उठाउँदै उनले पीडितलाई नै दोषी देखाउने मानसिकता अन्त्य गर्नुपर्ने बताइन् ।
अदालत तथा सार्वजनिक बहसमा प्रयोग हुने ‘आगो बलेपछि नौनी पग्लिन्छ’ जस्ता अभिव्यक्तिले समेत पीडित दोषारोपणलाई प्रश्रय दिने गरेको ओलीको भनाइ छ ।




प्रतिक्रिया