काठमाण्डु – भारतको उडियास्थित केआईआईटी (कीट) विश्वविद्यालयको क्याम्पसमा अध्ययनरत नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारमा संलग्न २ महिला अधिकारीलाई विश्वविद्यालयले पदमुक्त गरेको छ ।
चर्काचर्कीका क्रममा ती अधिकारीहरूले दिएको अभिव्यक्ति विवादमा परेपछि विश्वविद्यालयले दुवैलाई पदमुक्त गरेको छ भने दुवैले भिडियो सन्देशमार्फत क्षमायाचना गरेका छन् ।
कीड विश्वविद्यालयका उपकुलपति प्रा.डा. सरंजीत सिंहले नेपाली विद्यार्थी र नेपाली जनतासँग माफी मागेका छन् । उनले क्षमायाचना पत्रमा लेखेका छन्, ‘हामी दुर्भाग्यपूर्ण घटनाबाट अत्यन्त दुखित छौं । आन्दोलनरत विद्यार्थीहरूसँग केही व्यक्तिहरूले देखाएको व्यवहारप्रति पनि हामी खेद व्यक्त गर्दछौं । हामी हाम्रा विद्यार्थीहरूलाई माया गर्छौं र उनीहरूको कुनै पनि प्रकारको अपमान कहिल्यै गरेका थिएनौं ।’
क्याम्पसका २ अधिकारीहरूले व्यक्त गरेका टिप्पणीहरू अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेका उनले ठहर गरेका छन् । ‘ती टिप्पणीहरू व्यक्तिगत र क्षणिक रूपमा व्यक्त गरिएका भए तापनि हामी उनीहरूको कार्यलाई समर्थन गर्दैनौं । तसर्थ हामीले उनीहरूलाई सेवाबाट हटाएका छौं । उनीहरूले पनि आफ्नो व्यवहारका लागि माफी मागिसकेका छन्,’ पत्रमा उल्लेख छ ।
उनले सम्पूर्ण घटनाका लागि माफी माग्दै नेपाली विद्यार्थी र नेपाली जनताप्रति प्रेम तथा सद्भाव व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘हामी नेपाली जनतालाई भारतका नागरिकहरू तथा विश्वका अन्य जनतासरह नै माया गर्छौं ।’
उनले नेपाली विद्यार्थीहरूलाई तुरुन्तै नियमित शैक्षिक क्रियाकलापमा फर्किन आग्रह गरेका छन् ।
प्रतिक्रिया