तस्करीको सुनमा भागबन्डा नमिल्दा अपहरण गरी हत्या


काठमाडौं – तस्करीको सुन भागबन्डा गर्ने क्रममा बढेको विवादले मोरङ उर्लाबारी–७ का ३३ वर्षीय सनम शाक्यको हत्या भएको खुलेको छ । प्रहरीका अनुसार मंगलबार सनम अपहरणमा परेका थिए । त्यसपछि उनको हत्या भयो ।

हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले काभ्रेका ३२ वर्षीय टेकराज मल्ल, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की र मोरङ उर्लाबारी–७ का ३७ वर्षीय मोहन काफ्लेलाई पक्राउ गरिसकेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ ।

महाशाखा प्रमुख एसएसपी दिवेस लोहनीले तस्कर गरिएको सुनमा विवाद भएपछि सनम अपहरणमा परेको र त्यसपछि हत्या उनको हत्या भएको बताए । ‘तस्कारीको सुन भागबन्डामा उनीहरूबीच विवाद भयो । विवादपछि सनमको अपहरण गरियो । त्यसपछि कुटपिट भयो । कुटपिटकै कारण उनको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ,’ लोहनीले भने ।

प्रहरीका अनुसार मृतक सनम र घटनामा संलग्न तीनैजना सुन तस्करमा संलग्न अभियुक्त हुन् । उनीहरूले रसुवाको केरुङ नाका हुँदै भारतका विभिन्न बजारमा सुन तस्कार गर्दै आएका थिए । यही क्रममा मृतक सनमले साढे ३३ किलो सुन एकाएक गायब बनाएपछि उनीहरूबीच विवाद बढेको थियो । विवादकै क्रममा उनीहरूले सनमलाई अपहरण गरी अज्ञात स्थल लगेका थिए । कब्जामा लिएका सनमलाई उनीहरूले कुटपिट गर्दै गायब भएको साढे ३३ केजी सुनको सम्बन्धमा सोधपुछ गरेका थिए । प्रहरीका अनुसार कुटपिटकै कारण सनमको मृत्यु भएको हो ।

शनिबार बिहान विराटनगर–३ स्थित पोखरिया कन्या मार्गमा हुइँकिएको बा१२च ५९६३ को क्रिम कलरको स्कोरपियो गाडीमाथि शंका लागेर चेक गर्दा प्रहरीले गाडीको डिकीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरिएको शंकास्पद बस्तु भेट्यो । त्रिपाल खोल्दा चार दिनअघि अपरहण भएका सनमको मृत शरीर भेटियो । प्रहरीले गाडीचालक नियन्त्रणमा लियो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement