किम्ची रेष्टुरेन्टको पिउने पानीमा किरा भेटिएपछि २ लाख जरिवाना

किम्ची रेष्टुरेन्टको पिउने पानीमा किरा भेटिएपछि २ लाख जरिवाना


काठमाण्डु-काठमाडौंको अनामनगरमा रहेको नाम चलेको किम्ची किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडमा पिउने पानीमा किरा भेटिएपछि काठमाडौं महानगरले कारवाही गरेको छ ।

किम्चीको हलमा गत शुक्रबार महानगरले दुई दिने ‘विवाद व्यवस्थापनः वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रमको क्रममा वडा नं ११ की सदस्य यशोमती परियारले सिल गरिएको प्रशोधित पानीको बोतलबाट गिलासमा पानी खन्याउँदा त्यसमा कीरा सल्वलाएको देख्दा चकित परिन् । परियारले सिल गरेको पिउने पानीको बोत्तलमा किरा भेटेपछि उपप्रमुख सुनिता सुनिता डंगोललाई जानकारी दिएकी थिइन् ।

कार्यक्रममा उपस्थित डंगोलले तत्काल कार्यक्रम स्थगित गरी दूषित पानी बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन दिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको हो । उपप्रमुख डंगोल अनुगमन समितिकी संयोजकसमेत हुन् ।

‘पानीजन्य सङ्क्रमणको जोखिम रहेको अवस्थामा सिल गरिएको बोतलभित्र अखाद्य वस्तु देखिनु चरम लापरबाही हो । महानगरपालिकाले खानपान र पिउने पानीको स्वच्छता सुनिश्चित गर्न व्यवसायीहरूलाई बारम्बार सचेत गराउँदै आएको छ । अनुरोधलाई बेवास्ता गर्नेहरूमाथि कानुनी कारबाही गर्नुको विकल्प छैन’, उपप्रमुख डंगोलले भनिन् ।

घटनापछि महानगरको अनुगमन टोलीले रेष्टुरेन्ट पुगेर नमुना सङ्कलन गरेको थियो । आइतबार महानगरपालिकाले दूषित पानी बिक्री गर्ने कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

उक्त रेष्टुरेन्टमा विक्री भइरहेको पानी काठमाडौंको टोखा नगरपालिका वडा नंं ८ मा रहेको सिटी मिनरल वाटर एण्ड बेभरेज प्रा. लि. ले उत्पादन गरेको ‘इको’ ब्राण्डको हो ।

यसअघि पनि महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई खाद्य स्वच्छता कायम नगरेको आरोपमा दुई पटक जरिवाना गरिसकेको छ ।