काठमाण्डु – जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाण्डुले प्रहरी परिसर भद्रकालीमा धर्ना दिएको छ । समाचारसँग सम्बन्धित विषयलाई लिएर श्रेष्ठ पक्राउ परेको घटनाको विरोधमा महासंघले धर्ना दिएको हो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा महासंघको नेतृत्वमा पत्रकारहरू धर्नामा बसेको महासचिव रामप्रसाद दाहालले बताए ।
काठमाण्डु जिल्ला प्रहरी परिसर, भद्रकालीमा बसेको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गर्दै पत्रकारमाथि धरपकड गरेको छ।
धर्नाका क्रममा प्रहरीले पत्रकारहरूलाई हटाउने प्रयास गर्दै धरपकड गरेको हो।
शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिरहेका पत्रकारमाथि प्रहरीबाट भएको हस्तक्षेपले प्रेस स्वतन्त्रता र नागरिकको मौलिक अधिकारमाथि गम्भीर प्रश्न उठाएको पत्रकारहरूले बताएका छन्।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको अवस्थामा समाचार संकलन तथा प्रकाशनका विषयमा पत्रकारमाथि प्रहरी हस्तक्षेप हुनु आपत्तिजनक भएको महासंघकी अध्यक्ष निर्मला शर्माले बताइन् ।
प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष समेत रहेका श्रेष्ठलाई बुधबार राति प्रहरीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।








प्रतिक्रिया