१० वटा मासु पसललाई ५० प्रतिशत अनुदान दिँदै काठमाडौं महानगर


काठमाडौं– चालु आर्थिक बर्षमा महानगरले मासुको गुणस्तर सुधार गर्न ३० वटा पसललाई दिने अनुदान १० वटाले मात्र पाउने भएका छन् । योजना ३० वटालाई नै दिने भन्ने थियो तर निवेदन नै परेन ।

‘हामीले सार्वजनिक सूचना प्रकाशन गरेर निवेदन माग्यौं तर कम मात्र निवेदन परे । आएकामध्ये पनि केहीको मापदण्ड नै पुगेको थिएन । त्यसैले १० वटालाई दिइने भएको हो,’ कृषि तथा पशु सेवा बिभागका प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए।

प्राप्त निवेदनमध्येबाट मापदण्डका आधारमा ३ वटालाई साझेदारिमा मिट मार्ट स्थापना कार्यक्रमअन्तर्गत जनही १५ लाख रुपैयाँ, ४ वटालाई मासुजन्य उद्योग प्रवर्धन कार्यक्रमअन्तर्गत जनही ५ लाख रुपैयाँ र ३ वटालाई मासु पसल सुधार कार्यक्रमअन्तर्गत जनही १ लाख रुपैयाँ अनुदान दिइनेछ । छनौटमा परेका व्यवसायीहरु अहिले अनुदानबाट प्राप्त रकमबाट तयार गर्नुपर्ने पूर्वाधारमा लागेका छन्।

बिभागका प्रमुख भण्डारीकाअनुसार — छनौटमा परेका व्यवसायीको व्यवसायिक कार्ययोजना, अहिलेको पूर्वाधार र सुधार गर्न सक्ने आधारजस्ता सूचक हेरेर अनुदान उपलब्ध गराइनेछ । यसरी प्रदान गरिने अनुदान लगानीको ५० प्रतिशत भाग मात्र हो । महानगरबाट प्राप्त गरेको रकमको दोब्बर लगानी हुने व्यवसायीले मात्र अनुदान पाउनेछन् ।

अनुदान उपलब्ध गराइने र अन्य पसलको स्थलगत अबस्था हेर्न आइतबार कलंकी, सोल्टीमोड र कालीमाटी क्षेत्रमा भएका मासु पसलको अनुगमन गरिएको थियो । महानगरकी कार्यवाहक प्रमुख एवं अनुगमन समितिकी संयोजक हरिप्रभा श्रेष्ठ खड्गीको नेतृत्वमा भएको अनुगमनका क्रममा मासु उत्पादनमा लागेका व्यवसायीको आचरणमा जोड दिइएको थियो ।

पशु वध गर्दा, मासु सफाइ गर्दा प्रयोग हुने ठाउँ, हतियार, बिक्री कक्ष, भण्डारण क्षमता कस्तो छ? दर्ता छ कि छैन ? व्यवसायीलाई प्रश्न गरिएका थिए । प्रचलित कानुनी व्यवस्थाको व्यवहारिक कार्यान्वयनका लागि व्यबसायीलाई प्रोत्साहित गर्न अनुदान दिन खोजेका हौं । त्यो मात्र होइन जनस्वास्थ्य र वातावरणसँग सम्बन्धि राख्ने मासु व्यवसायीको आचरणमा निगरानी गर्नु हाम्रो दायित्व हो । हामी यो दायित्व जसरी पनि पूरा गर्छौ । महानगरकी कार्यवाहक प्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले प्रतिक्रिया दिइन्।

अनुदानका लागि छनौटमा परेका व्यवसायीहरु
साझेदारिमा मिट मार्ट स्थापना कार्यक्रम
१) देउमान तामाङ्, डि एण्ड आर एग्रिकल्चर फर्म प्रा. लि., कामपा वडा ३ बसुन्धरा

२) निबेश महर्जन, क्वालिटी फ्रेस चिकेन हाउस, कामपा वडा १३ सोल्टी मोड

३) बिजय कँडेल, हाइजेनिक मिट सेन्टर, प्रा. लि. कामपा वडा ३ बालुवाटार

साझेदारिमा मासुजन्य उद्योग प्रवर्धन कार्यक्रम
१) साजन शाही, साजन फ्रेस मिट सप, कालोपुल, कामपा वडा ५

२) दिलिप खड्गी, न्यु फ्रेस बफ मिट सप, सामाखुशी, कामपा वडा २६

३) डिल्लीकुमार दाहाल, दाहाल मिट सप, कोटेश्वर, कामपा वडा ३२

४) चैत्यप्रसाद शाही, नवदूर्गा मासु पसल, मीनभवन, कामपा वडा ३१

मासुपसल सुधार कार्यक्रम
१) अनिल खड्गी, दिलिप मिट सप, जय बागेश्वरी, कामपा वडा ८

२) लीना खड्गी, फ्रेस मिट सप, जय बागेश्वरी, कामपा वडा ८

३) सूर्यमाया खड्गी, सूर्यमाया मिट सप, नयाँ बस्ती, कामपा वडा ८

प्रतिक्रिया दिनुहोस
Advertisement