कोरियाली भाषा परीक्षा आगामी जेठमा


काठमाडौँ – रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ ।

आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् ।

कोटा बढ्यो

यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साविकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१९ का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ ।

पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement