कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन प्रदेश सभामा संकल्प प्रस्ताव पेश


विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई हटाउन माग गर्दै प्रदेश सभामा संकल्प प्रस्ताव पेश गरिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाट परिमार्जित संकल्प प्रस्ताव सभामा पेश गरिएको छ ।

आज बसेको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले संकल्प प्रस्ताव पेश गरेका छन् । एमाले प्रमुख सचेतक भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव सभामा पेश भएको छ ।

सभामुख अमरबहादुर विष्टले सभामा संकल्प प्रस्ताव पेश गर्न भण्डारीलाई समय दिएका थिए । बैठकमा एमाले प्रमुख सचेतक भण्डारीले सरकालाई दिएको समर्थन फिर्ता भइसकेकाले मुख्यमन्त्री कार्की अल्पमतमा परेका जानकारी दिए ।

उनले भने, ‘हामीले बनाएको मुख्यमन्त्री केदार कार्की संवैधानिक, कानूनी, संसदीय प्रक्रिया तथा संसदीय प्रणालीका मूल्यमान्यताका हिसाबले अल्पमतमा पर्नुभयो । बहुमत गुमाउनु भयो ।’

अल्पमतमा परेका मुख्यमन्त्री कार्कीको मार्गप्रशस्तका लागि संकल्प प्रस्ताव पेश गरिएको उनले बताए ।

नेपाली कांग्रेसबाट निर्वाचित मुख्यमन्त्री कार्की अल्पमतमा परेकाले पदमुक्त गर्न आवश्यक रहेको भन्दै एमाले र माओवादीको मागअनुसार प्रदेश प्रमुख परशुराम खापुङले बिहीबारका लागि प्रदेश सभाको अधिवेशन बोलाएका थिए ।

परिमार्जित संकल्प प्रस्तावमा ‘चैत २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement