पूर्वमुख्यमन्त्रीलाई गाडी सुविधा नदिन अदालतको अन्तरिम आदेश

पूर्वमुख्यमन्त्रीलाई गाडी सुविधा नदिन अदालतको अन्तरिम आदेश


काठमाण्डु – कोशी प्रदेश सरकारका पूर्वमुख्यमन्त्री उद्धव थापालाई गाडी सुविधा नदिन उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिएको छ ।

पूर्वमुख्यमन्त्री थापालाई हलुका सवारीसाधन दिन सरकारले गरेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालतले आदेश दिएको छ ।

थापालाई हलुका सवारीसाधन, चालक र इन्धन सुविधा उपलब्ध गराउने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेपछि त्यसविरुद्ध रिट दायर गरिएको थियो । रिटमाथि सुनुवाइ गर्दै अदालतले गाडी सुविधा नदिन अन्तरिम आदेश दिएको छ ।

अदालतका न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको इजलासले रिटको सुनुवाइ गर्दै सुविधा नदिन आदेश दिएको छ ।

सरकारको निर्णयविरुद्ध अधिवक्ताद्वय कर्णबहादुर राई र प्रेमकुमार घिमिरेले गत पुस २१ गते रिट दायर गरेका थिए । पुस २२ गते न्यायाधीय राज्यलक्ष्मी बज्राचार्यको इजलासले रिटको सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।