कोशी प्रदेश सभामा बजेट अध्यादेश स्वीकृत


विराटनगर – कोशी प्रदेशसभा बैठकले बजेट अध्यादेश स्वीकृत गरेको छ ।

यसअघिको सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश प्रदेश सभाले स्वीकृत गरेको छ ।

सोमबार बसेको चौथो अधिवेशनको चौथो बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको छ ।

यसअघि अध्यादेश अस्वीकृतको माग गर्दै सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरूले प्रदेशसभा सचिवालयमा दर्ता गराएको सूचना सांसद नारायणबहादुर बुर्जामगरले फिर्ता लिएका छन् ।

सूचना फिर्ता भएसँगै प्रदेश सभाबाट अध्यादेश स्वीकृत भएको छ । प्रदेश सभाको सोमबारको बैठकमार्फत ‘प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरूका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभामा प्रस्तुत भएको छ ।

प्रदेश सभाको अर्को बैठक भोलि मंगलबारका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement