कोटीहोममा विभिन्न जातजातिको संस्कृति प्रदर्शन

कोटीहोममा विभिन्न जातजातिको संस्कृति प्रदर्शन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा प्रवचनसँगै विभिन्न जातजातिको संस्कृति प्रदर्शन गरिएको छ ।

कोटीहोममा सनातन हिन्दू धर्मको रक्षासँगै विभिन्न जातजातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले पनि आईतबारदेखि विभिन्न जातजातिको संस्कृति प्रस्तुत भएको हो ।

कोटीहोममा आईतबारदेखि हरेक दिन विभिन्न जातजातिको संस्कृति प्रदर्शन हुने सांस्कृतिक झाँकी प्रस्तुति संयोजक पब्लिक स्पिकर, मोटीभेटर, शिक्षा तथा संस्कृतिविद् डा. तुलसी प्रभास खनालले जानकारी दिए । उनका अनुसार कोटीहोममा कसैले आफ्नो विशेष संस्कृति प्रदर्शन गर्न चाहेमा आयोजकलाई सम्पर्क गर्न सक्नेछन् ।

कोटीहोममा आईतबार नवलपुरबाट मध्यविन्दु नगरपालिका–३ का अध्यक्ष मानबहादुर महतो, जिल्ला समन्वय समिति नवलपुरका सदस्य लोकनाथ अर्याल, थारु संस्कृतिका अनुसन्धानकर्ता हरिमाया चौधरी सहितको १०० जनाको समूह कोटीहोम दर्शन र थारु संस्कृतिको प्रदर्शनका गरेका थिए । उनीहरूले लाठी नाच, झमटा, झुमरा लगायतका झाँकी सहितको नृत्य प्रस्तुत गरेका थिए ।

जेठ १० गते शनिबार दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ दरौं सिरुवारिबाट स्थानीय जातजाति बाजागाजासहित झाँकी प्रस्तुत हुनेछ । उनीहरूले कोटीहोम विशेषगरी त्यहाँको थाली नृत्य प्रस्तुत गर्ने खनालले जानकारी दिए ।

कोटीहोममा प्रख्यात साधु सन्तको प्रवचन र नेपालका ख्याति प्राप्त कलाकारको प्रस्तुति दिनहुँ रहेको छ । कार्यक्रममा अनन्त श्री विभूषित १००८ महामण्डलेश्वर बाल सन्त आचार्य स्वामी रामेश्वरानंद सरस्वतीजी महाराजलाई कोटीहोमका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले स–सम्मानका साथ बिदाइ गरेका छन् ।

बौद्धिक धर्म परिषद्का मठाधिश स्वामी जगन्नाथ आचार्यले मानव सेवा फाउन्डेसनले सेवासँगै सनातन धर्मको जगेर्ना गर्ने काम गरेको बताउँदै महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको यो सतत कार्यमा सबै जुट्नुपर्ने उल्लेख गरे ।

महन्त आदियोगी गौतम स्वामीले कोटीहोममा कथा प्रवचन तथा सन्देश दिएका थिए । कोटीहोममा आईतबार भजन गायक रेसम सापकोटा, लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमालले भजन प्रस्तुत गरेका थिए ।

कोटीहोममा सोमवार वरिष्ठ लोक गायिका हरिदेवी कोइराला, लोकदोहोरी गायक राजु ढकाल, ६ गते हास्य कलाकार मेरी वास्यैकी पल्पसा डंगोल ‘चम्सुरी’ र २४ गते महानायक राजेश हमालको सहभागिता रहने प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

कोटीहोममा आईतबार पोखरा–१७ बिरौटा सिर्जनशील आमा समूहबाट ४३ हजार ५५, अर्जुन चौपारी गाउँपालिका–५ स्याङ्जाका नरेश्वर सापकोटाले ३५ हजार ५२५, बासगढी नगरपालिका–३ बर्दियाका नारायण प्रसाद पहाडीले २५ हजार ५२५, पूर्व कर्मचारी सेवा परिषद् गण्डकी प्रदेशबाट २५ हजार ५५५, नारायण फर्निचर उद्योगका विश्वेश्वर प्रसाद अर्याल र अणकुमारी अर्यालले २५ हजार ५५५, सिद्धगंगा नगरपालिका अर्घाखाँची मोदिखोला जलविद्युत् आयोजनबाट ११ हजार १११ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

कार्यक्रममा रास्वपा कास्कीका सहसचिव टेकराज सापकोटा र मानव सेवा फाउन्डेसनका आजीवन सदस्य बनेका दिनेश आचार्यले कोटीहोममा आएर केही न केही सहयोग गर्न आग्रह गरे । कोटीहोममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारीको उपस्थिति थियो ।

पोखरा–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटीहोम सञ्चालन भएको छ । कोटीहोम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।