काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सुधार र संविधान संशोधनको विषयमा दलहरूसँग छलफल भइरहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिअनुसार संविधान संशोधन गरिने र त्यसका लागि अन्य दलहरूसँग पनि छलफल चलिरहेको बताए ।
विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उनले पत्रकारहरूसँग अत्यन्त छोटो प्रतिक्रिया दिए । उनी समयको व्यस्तता र अभावका कारण पत्रकारहरूसँग पछि कुरा गर्ने पनि जनाए ।
प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानद्वारा आयोजना हुने १३औँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्न विराटनगर हुँदै धरान गएका हुन् ।
प्रतिक्रिया