प्रधानमन्त्री ओलीद्वारा विपिन जोशीको रिहाइका लागि इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

प्रधानमन्त्री ओलीद्वारा विपिन जोशीको रिहाइका लागि इजिप्टका राष्ट्रपतिसँग टेलिफोन संवाद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग बुधबार साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग आग्रह गरे । जवाफमा राष्ट्रपति अब्देलले आफ्नो प्रयास जारी रहने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ इजिप्टका राष्ट्रपति महामहिम अब्देल फताह अल सिसीसँग आज टेलिफोन संवाद भएको छ । इजरायल–हमास युद्धविराम र युद्धका बन्दीहरूको रिहाइका लागि उहाँले खेल्नुभएको भूमिकाका लागि धन्यवाद दिएँ । दोस्रो चरणको बन्दी रिहाइका क्रममा बन्दी रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइलाई प्राथमिकतामा राख्न अनुरोध गरेको छु । महामहिम राष्ट्रपतिले त्यसमा आफूले प्राथमिकता दिने बताउनुभएको छ ।’

इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको इजरायल र हमासबीचको दोस्रो चरणको बन्दी आदानप्रदानको सूचीमा नाम प्राथमिकतामा पार्ने प्रयासका लागि धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री ओलीले इजरायल र हमासबीचको युद्धविराम सम्झौताको नेपालले स्वागत गरिसकेको र सो क्रममा अरब गणतन्त्र इजिप्टले खेलेको भूमिकाको महत्त्वपूर्ण भएको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा सदैव रहेको स्पष्ट गर्दै यस मानवीय प्रकृतिको कार्यमा भूमिका निर्वाहका लागि कतार र संयुक्त राज्य अमेरिका सरकारलाई पनि आभार व्यक्त गरेका छन् ।

यसैबीच, प्रधानमन्त्री ओलीले आगामी जेठ २–४ गतेसम्म काठमाण्डुमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि राष्ट्रपति खालिललाई निमन्त्रणा गरे । वातावरण सम्बन्धी विश्व सम्मेलन (कोप–२७) को आतिथ्य मुलुकका नाताले जलवायु परिवर्तनका मुद्दामा साझा सहकार्यका लागि प्रधानमन्त्री ओलीले उनीसँग आग्रह गरेका छन् ।