युवाले देश बनाउने संकल्प गर्नुपर्छ : प्रधानमन्त्री ओली

युवाले देश बनाउने संकल्प गर्नुपर्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले लोकतन्त्र दिवस नेपालीको ठूलो चाड र खुसीको दिन भएको बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा नेकपा एमालेले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै ओलीले वैशाख ११ निरंकुशता पराजय र लोकतन्त्रले जितेको दिन भएको बताए । त्यसैले यो दिनलाई उत्सवको रूपमा मनाउनुपर्ने उनको धारणा छ ।

निरंकुश व्यवस्थाको कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको उनले बताए । त्यसविरुद्ध अनेक कठिनाइ झेलेर संघर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएको ओलीले सुनाए । अब देश युवाले बनाउनुपर्ने उनको भनाइ छ ।

अहिले जनताको बलिदान र संघर्षको अपमान गर्ने र मजाक उडाने काम केही व्यक्ति र समूहले गरेका उनले बताए । सामन्ती व्यवस्थालाई पुनः फर्काउने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउने काम गरिएको ओलीले सुनाए । ‘जङ्गली मात्र होइन, राक्षसी प्रवृत्ति देखाउनेहरूले कस्तो शासन गर्न खोजेका छन् भन्ने प्रष्ट भएको छ,’ ओलीले भने ।

आज युवालाई भड्काउने अनेक प्रयास भइरहेका उनले बताए । केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएका भन्दै उनले यसमा सचेत हुनुपर्ने बताए ।

यी सबै कुरालाई बुझेर युवा सही बाटोमा अघि बढ्नुपर्नेमा उनले जोड दिए । ‘अबको समय देशमा युवाको समय हो,’ ओलीले भने ।

लोकतन्त्रमा पनि केही गलत प्रवृत्ति देखाएका बताउँदै उनले त्यसबाट देश केही समय अलमलमा परेको बताए । अब भ्रममा होइन, स्पष्ट दृष्टिकोणका साथ देश अघि बढ्नुपर्नेमा ओलीले जोड दिए ।

प्रधानमन्त्री ओलीले प्राप्त उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने बताए । ‘युवाले देश बनाउने संकल्प गर्नुपर्दछ, संकल्पलाई साकार पार्नुपर्दछ,’ उनले भने ।

एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणको कारणले राष्ट्र विरोधी तत्वहरू एमालेविरुद्ध खनिएका उनले बताए । त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिँजाउने गरेको उनको भनाइ छ ।

नेकपा एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको उनले बताए । सरकारतिर होइन, चुनावतिर ध्यान दिन उनले आग्रह गरे । एमालेका युवालाई मिसन २०८४ मा ध्यान दिन उनले आग्रह गरे ।

मिसन २०८४ नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने मिसन भएको उनले बताए । सोही अभियानमार्फत देश बन्ने र बनाउने उनले दाबी गरे ।

देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुन पनि उनले आग्रह गरे । समाजलाई विभाजन गर्ने तत्वसँग सचेत भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । ‘नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन्, महान् नेपालका नेपाली युवा त्यस अनुसार अघि बढ्ने छन्, यसको नेतृत्व नेकपा एमालेले बाटो नबिराई गर्नेछ, गर्न सक्छ,’ ओलीले भने ।