प्रधानमन्त्रीले सुनाए मिर्गौला फेल भएको कारण

प्रधानमन्त्रीले सुनाए मिर्गौला फेल भएको कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला रोगबाट पीडित छन् । उनले मिगौंलाको प्रत्यारोपण पनि गराएका छन् । तर उनी मिर्गौलाबाट कसरी पीडित भए त्यसको कारण खुलाएका छन् ।

काठमाण्डुमा बिहीबार कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौलाको रोग कसरी लाग्यो त्यसबारे खुलासा गरेका हुन् ।

उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताए । तागतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि स्वास्थ्य बिग्रिँदै गएको उनले सुनाए ।

‘मलाई टिबरक्लोसिस (क्षयरोग) लाग्यो । अल्सर भयो, दुखेर असैह्य भयो । पेटभरी घाउ भएर, भतभत पोल्यो । रगत आउँथ्यो । अनि पेन किलर खान्थे’, आफ्नो पीडा ओलीले सुनाए ।

पेन किलर खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ भन्दै उनले निष्कर्ष सुनाए, ‘मेरो किड्नी फेल हुनुको कारण पेन किलर हो ।’

प्रधानमन्त्री ओलीले नेपालमा कुष्ठ रोग कम भएपनि उन्मुलन भइनसकेको पनि बताए । ‘कुष्ठ रोगको स्थिति नेपालमा सारै भयावह छ भन्न मिल्दैन’, प्रधानमन्त्रीले भने, ‘किनभने विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार राष्ट्रियस्तरमा कुष्ठरोग नियन्त्रण भएको मान्नुपर्दछ, जबकि १० हजारमा एकभन्दा तलै छ ।’ यो आँकडालाई उन्मुलन भएको मनिएपनि सन्तोष मान्न सक्ने अवस्था नरहेको प्रधानमन्त्रीको भनाइ छ ।

उनले कुष्ठरोगको निवारण गरिछाड्ने प्रयासलाई प्रभावकारी ढङ्गले अघि बढाउन जरुरी भएको पनि बताए ।

कुष्ठरोगलाई आयुर्वेदिक औषधीबाट समेत निको पार्न सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीले खानालगायतका विषयमा ध्यान दिन सक्नुपर्ने बताए । उनले सिंगै नेपाललाई निरोगी नेपाल बनाउन सरकारले चाहेको भन्दै रोग लाग्ने परिस्थिति आउनै दिन नहुने बताए ।