काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको निर्णय अधिकारलाई पुनः वंशमा केन्द्रित गर्न खोज्ने प्रयास सम्भव नहुने बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा बिहीबार टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको दिन हुकुमी राजतन्त्रलाई परास्त गरेको दिन भएको बताए ।
‘इतिहासका विभिन्न कालखण्डमा निरंकुश राजतन्त्र र जनताबीच संघर्ष र सम्झौताहरू भए । जनतासँग भएका सम्झौताहरूलाई पटक पटक तोडेको हुकुमी राजतन्त्रलाई परास्त गर्दै जनताले गणतन्त्र स्थापना गरेका थिए,’ प्रधानमन्त्री ओलीले भने, ‘जनताको निर्णय अधिकारलाई फेरि एउटा अभिजात वंशमा केन्द्रित गर्न खोज्ने प्रयास आज पनि भइरहेको छ ।’
तर, जनताको मतभन्दा शाही इशारा ठूलो हो भनेर किमार्थ भन्न नसकिने उनको भनाइ छ ।
त्यस्तै, सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सार्वजनिक सूचना प्रणालीको लाभ लिएर निरंकुशतावादीहरू हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाउने दुश्प्रयासमा लागेको पनि बताए ।
‘सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरंकुशतन्त्रमा गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री ओलीले भने, ‘यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अंध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर सावित गर्ने दुश्प्रयास गरिरहेका छन् ।’
प्रतिक्रिया