युवाहरू सही बाटोमा अघि बढे देशले सही बाटो समात्छ : प्रधानमन्त्री ओली

युवाहरू सही बाटोमा अघि बढे देशले सही बाटो समात्छ : प्रधानमन्त्री ओली


ललिलपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुुस्त हुने बताएका छन् ।

राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सोमबार सम्बोधन गर्दै उनले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले युवासंघको काँधमा असाधारण जिम्मेवारी रहेको छ । आगामी स्थानीय तहको निर्वाचनसम्म यस कमिटीको नेतृत्व रहन्छ । संघको नेतृत्वले आफ्नो कार्यकालका लागि सिङ्गो योजना बनाओस् । नयाँ इतिहास कायम राखोस् । असाधारण सक्रियताका साथ काम गरोस् । यसले सामाजिक न्याय, राष्ट्रिय हित, रक्षा, सुशासन र वैज्ञानिक दृष्टिकोणजस्ता एमालेका नीतिप्रतिको प्रतिबद्ध सङ्गठनका रूपमा उभ्याओस् । वैचारिक हिसाबले स्पष्ट र साङ्गठनिक हिसाबले सुदृढ तथा आवश्यकता परेका बेला देश र पार्टीका पक्षमा जुझारुरुपमा आन्दोलन गर्न सक्ने योजना होस् । विपक्षीहरूले फैलाएका भ्रमपूर्ण प्रचारको खण्डन गरोस् । सही बाटोका पछि लागोस् । व्यक्तिका पछि होइन ।’

सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरू असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरू विश्वमा युवाहरूले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन उनले आह्वान गरे ।

उनले भने, ‘युवाहरू सही बाटोमा अघि बढेमा देश सही बाटोमा अघि बढ्छ । युवाहरूलाई भ्रममा पार्न वा शिथिल पार्ने काम भएमा परिवर्तन र अग्रगमन सुुस्त गतिमा अगाडि बढ्न पुग्छन् । युवाहरूलाई उद्यमशीलतातर्फ कसरी अगाडि बढाउने भन्नेमा हामी लाग्नुपर्छ । उही नेता कहिले कहिले आवश्यकताले दोहोरिन्छ । कहिले १ पटकमै उसको परीक्षणबाट असफल हुन्छ । हामीले पार्टीमा ठीक नेतृत्व नपाउँदा आन्दोलन रुमलियो । जनताको बहुदलीय जनवाद (जबज) पारित भएपछि पनि तत्काल सही नेतृत्व पाएनौं । जब सही नेतृत्व पायौं, त्यसपछि पार्टीलाई सुस्पष्ट र मजबुद बनाएर अघि बढ्यौं ।’

आफूहरूलाई सिध्याउँछौं भनेर प्रतिक्रियावादीहरू लागे पनि आफूहरू मजबुत हुन सक्नुमा सही विचार र सही नेतृत्व भएकाले पार्टी एकीकरण गरेर नेकपा बनाएको तर पार्टीमा विभाजना गराइएकाले फेरि पार्टीलाई जस्ताको त्यस्तै बनाएर अघि बढेको त्यो सामर्थ्य एमालेसँग भएको पनि उनको भनाइ छ ।

उनले भने, ‘अहिले अर्थविनाको युवा युवा भनेर उचाल्ने प्रवृत्ति छ । जहाँ पनि युवा मात्रै भनेर हुँदैन । कुन तहसम्म कसरी युवाले के गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । दक्षता, सीप र अनुभव आदि कुराहरू चाहिन्छ । कुनै पनि व्यक्तिभित्र घमण्ड पसेपछि ऊ बिग्रिने बाटोमा जान्छ । हाम्रा युवाहरू दम्भी, घमण्डी हुने छैनन् । क्षमतावान, विनयी र शालिन हुनेछन् । गुण्डा हुने छैनन्, बलवान हुनेछन् । कसैले गालामा पिट्न आएमा ओम शान्ति… भनेर चाहिँ बस्दैनन् । त्यसकारण युवा संघले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउन सक्नुपर्छ ।’

युवा संघ जनताको स्वाभिमानको मजबुत किल्ला भएकाले यसलाई कसैले भत्काउन नसक्ने पनि उनले उल्लेख गरेका छन् ।