सुनसरी–सिरहा घटनाप्रति केपी ओली चिन्तित, संवादमार्फत समाधान खोज्न आग्रह

सुनसरी–सिरहा घटनाप्रति केपी ओली चिन्तित, संवादमार्फत समाधान खोज्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीको देवानगञ्जदेखि सिरहासम्म भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै बल प्रयोग तत्काल रोक्न र संवादमार्फत समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबूकमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले सुनसरीको देवानगञ्जमा उत्पन्न तनावपूर्ण अवस्थाका क्रममा स्थानीय युवा ओमप्रकाश मेहता तथा सिरहामा गोली लागेर गणेश यादवको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

उनले विभिन्न स्थानमा गोली लागेर थप नागरिकको ज्यान गएको समाचारले आफू अत्यन्त स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे । घाइते नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

अध्यक्ष ओलीले नागरिकबिचको एकता, भ्रातृत्व र सामाजिक सद्भावलाई कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई कुनै पनि भ्रामक प्रचारको पछि नलाग्न र संयमता अपनाउन आग्रह गरे । उनले सामाजिक सद्भाव विथोल्ने गतिविधिप्रति सचेत रहनुपर्नेमा पनि जोड दिए ।

सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै ओलीले नागरिकको जिउधनको सुरक्षा गर्दै संवादमार्फत समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भए पनि राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा सरकारले उदासीनता, अत्यधिक बल प्रयोग र मौनता देखाएको आरोप लगाए । उनले हिंसात्मक कदम तत्काल रोक्दै अविलम्ब वार्ता र संवादको प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरे ।

उनले मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै मुख्य राजनीतिक दलहरूले आपसी आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने धारणा राखेका छन् ।

अध्यक्ष ओलीले द्वन्द्व र हिंसाबाट कुनै पनि समस्याको समाधान सम्भव नभएको उल्लेख गर्दै संवाद, सहमति र जिम्मेवार सहकार्यबाट मात्रै वर्तमान जटिल परिस्थितिको निकास सम्भव हुने बताए । राष्ट्रको शान्ति, सुरक्षा र सामाजिक सद्भाव जोगाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक एवं सामाजिक समुदायका अगुवाहरूलाई राष्ट्रिय हितका पक्षमा एकजुट हुन पनि उनले आह्वान गरेका छन् ।