झापा– एमाले अध्यक्ष एवं पूर्वप्रधनमन्त्री केपी ओली लामो समयपछि शनिबार गृहजिल्ला झापा पुगेका छन् ।
ओली पार्टी नेता कार्यकर्तासँग भेटघाट गर्न र केही कार्यक्रममा सहभागी हुन जहाजमार्फत गृह जिल्ला गएका हुन् ।
उनले शनिबार बिर्तामोडमा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम छ ।
गत २१ फागुनको निर्वाचनमा ओली झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एवं हालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग पराजित भएका थिए । पछिल्लो समय उनलाई नेतृत्व छाड्न दबाब छ ।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित उनलाई साथ दिँदै आएका अधिकांश नेता र कार्यकर्ता पंक्ति ओलीको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने निस्कर्षमा पुगेको छ ।
ओली चुनाव प्रचारप्रसार अवधिभर निर्वाचन क्षेत्रमै रहे । तर, मतदानका लागि काठमाण्डु फर्किए । उनले आफू मतदाता रहेको भक्तपुरको सूर्यविनायकमा मतदान गर्न १८ फागुनमा झापा छाडेका थिए ।
बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएकैो भोलिपल्ट १४ चैतको बिहान जेनजी आन्दोलनकोे घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको सिफारिसअनुसार ओलीलाई गुण्डुस्थित निवासबाटै पक्राउ गरियो ।
पक्राउ परेकै दिन त्रिवि शिक्षण अस्पताल भर्ना भएका ओलीलाई २३ चैतमा पत्नी श्रीमती राधिका शाक्यको जिम्मामा छाडिएको थियो ।
फौजदारी कसुरमा मुद्दा चलाइएको भए पनि उनी अदालतको आदेशमा रिहा भए । त्यसयता उनी गृहजिल्ला फर्किएका थिएनन् ।




प्रतिक्रिया