देश संकटपूर्ण अवस्थामा रहेकाले एमालेलाई थप सुदृढ बनाउनुपर्छ : अध्यक्ष ओली

देश संकटपूर्ण अवस्थामा रहेकाले एमालेलाई थप सुदृढ बनाउनुपर्छ : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश संकटपूर्ण अवस्थामा रहेकाले एमालेलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन् ।

भक्तपुरको नगरकोटस्थित चाँगुनारायण नगरपालिका–८, चरेलीमा शनिबार आयोजित एमाले जनसंगठन समन्वय संयन्त्रको २ दिने कार्यशाला उद्घाटन गर्दै उनले पार्टी कमजोर भए देश पनि कमजोर हुने बताए ।

व्यक्तिगत स्वार्थ र दोषारोपणभन्दा माथि उठेर पार्टी र देशको हितमा केन्द्रित हुनुपर्ने समय आएको उनले बताए । जनसंगठनहरू एकताबद्ध भएर पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा उनले जोड दिए ।

देश र जनताको हितमा सरकारले काम गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले प्रतिपक्षको भूमिकामा रहेर सरकारलाई निरन्तर खबरदारी गरिरहने बताए। २ दिने कार्यशालाले पार्टी र देशलाई बलियो बनाउने स्पष्ट सन्देश दिनुपर्ने उनले बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगर तथा एमालेबाट मन्त्री पदमा शपथ लिएका २ मन्त्रीलाई सम्मान गरेका छन् ।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन सबै नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए । जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले सचिव महेश बस्नेत लगायत करिब १५० जना नेता तथा प्रतिनिधि कार्यशालामा सहभागी छन् ।