काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक परिवर्तनबारे कडा टिप्पणी गरेका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारले बुधबारको क्याबिनेटबाट ३३ औँ आईजीपी दानबहादुर कार्कीलाई हटाएर उनका ब्याची डा. मनोज केसीलाई नियुक्त गरिसकेको छ। कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सल्लाहकार बनाउने निर्णय भएको छ।
च्यासलमा पत्रकारले एमाले अध्यक्ष ओलीलाई सोधे, ‘सरकारले नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको छ मनोज केसीलाई यसमा के भन्नु हुन्छ ?’, त्यसको जवाफमा उनले भने, ‘ए ! उहाँहरूले अह्राएको काम गर्छ भनेर बनाएको होला नि नयाँ आईजीपी !’
ओलीले फरक प्रसंगमा मंगलबार राति भक्तपुरको गुण्डुस्थित आफ्नो निवासमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग राजनीतिक कुराहरू भएका बताएका छन्।
‘हामीबीच खासमा राम्रो कुरा भएको छ, धेरै राजनीतिक कुराहरू भएका छन्’, यति भनेपछि ओली च्यासलबाट गुन्डुतिर बाटो लागे।
लामो समयसम्म ओलीसँग पानी बारेको जस्तै व्यवहार गरेका थापा मंगलबार राति गुन्डु पुगेका थिए । कांग्रेसको पन्ध्रौँ महाधिवेशनमा पनि नआएका ओलीलाई भेट्न गगन पुग्नुको मुख्य कारण मधेश प्रदेश सरकारको संकट भनिएको छ। तर पछिल्लो समय विपक्षी दलहरूले सरकारविरूद्ध मोर्चा कस्ने चर्चाबीच ओलीसँग गगनको भेट भएको हो ।


प्रतिक्रिया