काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर आफ्नै उम्मेदवारलाई मत नदिने र पार्टीविरुद्ध गतिविधि गर्ने नेता-कार्यकर्तामाथि कारबाही गर्न निर्देशन दिएका छन्।
एमाले बागमती प्रदेश सङ्गठन कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको सदस्यता कायम राखेर अन्य दलका उम्मेदवारलाई मत दिनु बेइमानी भएको टिप्पणी गरे। ‘पार्टी बदल्दिनँ, भोट बदल्छु भन्ने बेइमान कुरा एमाले भएर सुहाउँदैन,’ उनले भने, ‘भोट बदल्नुभन्दा पहिले पार्टी बदल्नु राम्रो हो।’
उनले पार्टीविरुद्ध जालझेल, षड्यन्त्र वा तिकडम गरेको पाइए जिल्लास्तरबाटै स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र तथ्य भेटिए कारबाही गरी केन्द्रमा सिफारिस पठाउन निर्देशन दिए।
प्राप्त विवरणका आधारमा केन्द्रले पनि छानबिन गरेर निर्णय लिने उनले बताए। पार्टीभित्रका असमझदारी र मनमुटाव अन्त्य गर्दै वैचारिक स्पष्टता, अनुशासन र एकताका साथ अघि बढ्नुपर्नेमा पनि ओलीले जोड दिए।
बैठकमा ओलीले आउँदै गरेको स्थानीय तह निर्वाचनको महत्त्वबारे पनि बोले। ‘स्थानीय तह निर्वाचनले स्थानीय सरकार गठन र विकासका काममा मात्र प्रभाव पार्दैन’, उनले भने, ‘स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा निर्वाचनका मतदाता हुने भएकाले त्यसको परिणामले राष्ट्रिय सभा निर्वाचनमा पनि असर पार्छ।’
स्थानीय तहबाट शिक्षा, स्वास्थ्य, जनसेवा, भ्रष्टाचार नियन्त्रण र विकासका काम अघि बढाउन निर्वाचन महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। स्थानीय निर्वाचनको एक वर्षपछि प्रदेश सभा निर्वाचन हुने बताउँदै त्यहीअनुसार तयारीमा लाग्न पनजि उनले निर्देशन दिए ।


प्रतिक्रिया