मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीको पहिलो सम्बोधन, के भने ? (पूर्णपाठसहित)


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसलाई लक्षित गर्दै देशवासीका नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक देशवासीका नाममा सम्बोधन गरेका हुन् ।

शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको जोखिमको यस्तो संवेदनशील अवस्थामा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

त्यस्तै सरकारले सबै अन्तर्रा्ष्ट्रिय उडान चैत ९ गतेदेखि १९ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले सबै उडान स्थगित गर्ने घोषणा गरेका हुन् ।

यस्तो छ प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ:

विश्वका अधिकांश मुलुकहरु यस महामारीको संक्रमणबाट आक्रान्त भएका छन् । शुखद पक्ष अहिलेसम्म यस प्संक्रमणको लक्षण नेपालमा देखिएको छैन् । तर, हामी पनि यस जोखिमबाट ढुक्क हुने अवस्थामा छैनौं । नागरिकको स्वास्थ्य र सुरक्षालाई मैले सँधै उच्च प्राथमिकतामा राखेको छु ।

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र यसबाट उत्पन्न हुन सक्ने प्रभावका बारेमा चिन्तित रहेकोले प्रारम्भदेखि नै स्पष्ट कार्ययोजना बनाइ काम गर्न मैले निर्देशन दिँदै आइरहेको छु । देशमा संक्रमण भित्रिन नदिने, सचेतना जगाउने, निगरानी र क्वारेन्टाइनको प्रबन्ध मिलाउने र संक्रमितको उपचारको व्यवस्था मिलाउने रणनीति लिइ सरकारले सुरुको अवस्थाबाट नै विशेष तयारी गर्दै आइरहेको छ यस क्रममा मैले मेरै नेतृत्वमा पाँच वटा तयारी बैठकहरु सम्पन्न गरी छिमेकी चीनको उहान शहरबाट विद्यार्थीहरुको उद्धार र क्वारेन्टाइनको व्यवस्था गरिएको सबैलाई जानकारी नै छ ।

देस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानु अघि मैले मेरो अनुपस्थितिमा कार्य गर्न उपप्रधनामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरिय निर्देशन समिति बनाई समस्या समाधानको नीतिगत नेतृत्वको व्यवस्था मिलाएको थिएँ । साथै मुख्यसचिवको नेतृत्वमा रहेको कार्यान्वयन समिति मार्फत गरिएका निर्णयहरु मिलाएको थिएँ । यी नै संयन्त्रमार्फत सरकारले प्रदेश र स्थानीय तहसमेतसँग समन्वय गरी आफ्ना प्रयासहरु एकिकृत ढंगबाट अगाडि बढाउँदै आएको छु ।

दिदीबहिनी तथा दाजुभाइहरु महामारीसँग जुध्न सजिलो छैन् । हामीले केही समयका लागि आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी भएको छ । यसले जनजीवनमा केही असर त ल्याउन सक्छ । हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ । तर, सम्भावित संक्रमणलाई परास्त गर्न हामीसँग यसबाहेक अरु विकल्प पनि छैन् । तसर्थ तपाईहरुले भरोसा गर्नुभएको प्रधानमन्त्रीको हैसियतले म यहाँहरुलाई आग्रह गर्दछु । सरसफाइमा उचित ध्यान दिनुस, साबुन पानीले पटकपटक हात धुने र सेनिटाइजर प्रयोग गर्ने गर्नुहोस् । भीडभाडबाट टाढै रहनुहोस् । सकेसम्म घरमै बस्नुहोस् । अत्यावश्यक वस्तुको अधिक सञ्चय नगर्नुहोस् । हल्ला र अफवाहरुबाट भ्रमित नहुनुहोस् । चिकित्सक, विज्ञ र प्राविधिकहरुको सल्लाहलाई पालना गर्नुहोस् ।

धैर्यवान हुनुहोस् र संयममता अपनाउनुहोस् । र सावधान हुनुहोस्तर, आतंकित नहुनुहोस् । संक्रमित मुलुकबाट नेपाल आएका सबैले आफू बच्न आफ्नो परिवारलाई बचाउन र समुदायलाई संक्रमणबाट जोगाउन कम्तीमा घरमा क्वारेन्टाइनमा बस्नुपर्दछ । सबै दिदिबहिनी तथा दाजुभाइरहरुले यस अफ्ठ्यारो घडीमा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

संक्रमणको रोकथाम नियन्त्रण र उपचारका लागि सरकारले कुनै कसर बाँकी राख्ने छैन् । यसका लागि देशभरका अस्पतालहरुबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणहरुको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ । यस कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षा निकायलगायतलाई उचित प्रोत्साहनसहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

विद्युतीय माध्यमबाट नीजि क्षेत्रका कर्मचारीहरु सम्बन्धित कर्मचारी र सेवा प्रदायकले घरबाटै प्रदान गर्न प्रोत्साहित गरिनेछ । तर, सबै सरकारी कर्मचारीहरु र अत्यावश्यक सेवामा कार्यरत नीति क्षेत्रकासमेत कर्मचारीहरुले यथावत् रुपमा आ–आफ्नो कार्यालयमा उपस्थित भइ नियमित कामकाज गर्नुहुनेछ । सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक पर्ने नीजिसहित सबै प्रकारका सवारीसाधनहरु आवश्यकताअनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।

नीजि क्षेत्रको समेत सहयोगमा खाद्यान्न लगायत उपभोग्य सामग्रीको नियमित आपूर्ती हुने व्यावस्था मिलाइएको छ । तर, अप्ठ्यारो समयको फाइदा उठाउँदै कृतिम अभाव र्सिजना गरेर कालोबजारी गर्ने, खाद्यवस्तुमा विसावट गर्ने जस्ता अपराधिक काममा कोही संलग्न भएको पाइएमा प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारबाहीसमेत गरिने स्पष्ट पार्दछु ।

विश्वव्यापी यस महामारीले समग्र अर्थव्यवस्थामा पारेको असरका सम्बन्धमा अर्थ मन्त्रालयले सुक्ष्म अध्ययन गरिरहेको छ । अर्थव्यवस्थामा परेको र पर्नसक्ने प्रभावको विश्लेषण गरी अर्थतन्त्रमा संकुचन आउन नदिन सरकारले छिट्टै उपयुक्त कार्यक्रमहरु ल्याउने नै छ । उद्यमी तथा श्रमजिवी सबै सहयात्रीहरुमा यस महामारीले सिर्जना गर्न सक्ने प्रतिकुलताप्रति सरकार संवेदनशील छ र त्यसलाई सम्बोधन गर्नेनै छ ।
तपाई हाम्रै स्वास्थ्य र सुरक्षाालई ध्यानमा राखि केही क्षेत्रहरुमा निम्नानुसारका उपायहरु लागु गर्नपर्ने बाध्यकारी अवस्था पनि आएको छ ।

नेपाल भित्रिने सबै अन्तर्रा्ष्ट्रिय हवाई उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ ।
सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ । यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ ।

देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ । मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ । विद्यालय तथा विश्वविद्यालयका पठनपाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ । महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ ।

यी व्यवस्थाहरूबाट देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ । म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ ।

संसदमा प्रस्तुत एवं एकमतले पारित गरिएको संकल्प प्रस्ताव र सर्वदलीय बैठकमा अभिव्यक्त विचारहरुले यस समस्याको समाधानमा सिंगो राष्ट्र एकजुट रहेको भावना प्रकट भएको छ, जुन खुशीको कुरा हो। यस अभियानमा सरकारका सबै अङ्गहरु, नागरिक समाजका सबै संघ÷संस्थाहरु र आमसञ्चार जगत समेत सबैलाई पारस्परिक सहयोगका साथ नेपाली राष्ट्रिय भावना प्रकट गर्न म हार्दिक आव्हान गर्दछु ।

मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ । यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आफू रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नुहुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।

म अस्पतालबाट डिस्चार्ज भएलगत्तै भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीको पहलमा आयोजित दक्षिण एशियाली राष्ट्रहरुका सरकार तथा राष्ट्र प्रमुखहरुको भिडियो कन्फरेन्समा मैले पनि सम्बोधन गरेको थिएँ ।

कोरोना भाइरस महामारीविरुद्ध खर्च गरिने भारतीय प्रधानमन्त्रीले आव्हान गर्नुभएको संयुक्त कोषमा नेपालले पनि योगदान गर्ने प्रतिबद्धता जनाएको थिएँ ।

सार्क राष्ट्रमा यथोचित सहयोग गर्न सकियोस भन्ने उद्देश्यले यस कोषमा १० करोड रुपियाँ योगदान गर्नेे समेत जानकारी गराउँदछु । यस महामारीसंग जुध्न हाम्रा छिमेकीहरु, क्षेत्रीय मित्रहरु र अन्तर्रा्ष्ट्रिय समुदायसंग पारस्परिक सद्भाव र सहयोगका साथ अघि बढ्न हामी प्रतिवद्ध छौं ।

तपाईहरूकै सहयोगमा विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सम्भावित संक्रमणबाट आम जनसमुदायलाई सुरक्षित राख्न हामी सफल हुनेछौं । यस उद्देश्य प्राप्तिका लागि निजी क्षेत्र, संघसंस्था, दुबै छिमेकी तथा अन्य मित्रराष्ट्रहरू लगायत अन्तर्राष्ट्रिय समुदायहरुबाट हालसम्म प्राप्त सबैप्रकारका सद्भाव तथा सहयोगका लागि धन्यवाद भन्न चाहन्छु । आगामी दिनमा समेत छिमेकी तथा अन्य मित्र राष्ट्रहरु र शुभेच्छुक संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुनेमा मैले विश्वास लिएको छु ।

मृगौला प्रत्यारोपण र उपचारपछिको शीघ्र स्वास्थ्यलाभमा यहाँहरुले मेरो इच्छाशक्ति र उच्च मनोबल प्रमुख कारक रहेको चर्चा गर्दै आउनु भएको मैले सुनेको छु । यस घडीमा मलुकले हामी सबैको दृढ ईच्छाशक्ति र उच्च मनोवलको माग गरेको छ । हाम्रो इच्छाशक्ति, उच्च मनोबल र आपसी एकताले कोरोना भाइरसको महामारीलाई रोक्न, पराजित गर्न र अघि बढ्न निर्णायक भूमिका खेल्ने छ भन्ने मैले विश्वास लिएको छु ।

२०७२ सालको विनासकारी भुकम्प र त्यसपछि सिर्जित प्रतिकुलतालाई हामीले दृढताका साथ सामना ग¥यौं । यस अप्ठ्यारो घडीमा पनि त्यस्तै दृढता सहित, सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइले पूर्ण सहयोग र साथ दिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

धन्यवाद !

प्रतिक्रिया दिनुहोस
Advertisement