नेपालमा कोरोनाको संक्रमण भयावह हुन सक्छ, सजग हुनु जरुरी छः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमै चालिएको सुरक्षाका प्रभावकारी कदमका कारण अहिलेसम्म नेपालमा कोरोना भाइरसले महामारी रूप लिन नसकेको भए पनि पछिल्लो समय स्थिति बिग्रिँदै गएको बताएका छन् ।

बुद्ध जयन्तीका अवसरमा बिहीबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पनि कोरोना महामारी भयावह रूप लिने लक्षण देखिएकाले सजगता अपनाउन सबै नागरिकलाई आह्वान गरेका हुन् ।

बुधबारसम्म नेपालमा कोरोनाबाट ९९ जना संक्रमित भइसकेका छन्। तर तीमध्ये १९ जना संक्रमणमुक्त भइसकेका छन् । यसअघि निको हुनेको संख्या २२ पुगेको भए पनि तीन जनामा पुनः कोरोना पोजिटिभ देखिएपछि यो संख्या केही घटेको हो ।

‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन् । तर भयावह हुन सक्ने लक्षण देखिएका छन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिन सक्दछ। त्यसकारण हामी सजग हुनु जरुरी छ ।’

विश्वमा कोरोना भाइरसबाट संक्रमित तथा मृत्यु हुने क्रम बढ्दै गएकाप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले ज्यान गुमाएका सबैप्रति श्रद्धासुमन प्रकट गरेका छन् भने बिरामीलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement