नरेन्द्र मोदीलाई प्रधानमन्त्रीको प्रश्नः सत्यमेव जयते कि सिंहमेव जयते ?


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई सत्यको बाटो अंगाल्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि र प्रदेशसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई सत्यको पथमा अडिग रहेको बताउने भारतले लिम्पियाधुरासम्मको क्षेत्र नेपालको रहेको सत्य स्वीकार गर्नुपर्ने बताएका हुन् ।

सिंहमुनि ‘सत्यमेव जयते’ लेखेर भारत सत्यको पथमा उभिने गरेको भन्दै ओलीले भारतले उक्त भूमि नेपालको नभएको दाबी गरे । भारतीय समकक्षी नरेन्द्र मोदीलाई उक्त वाक्यको परिभाषा प्रस्टाउन समेत आग्रह गरेका छन् ।

‘सिंह अंकित भारतको प्रतीक चिन्हमा लेखिएको छ । लेखिएको भारतकोमा छ तर विश्वास भने गर्छु । भारतीय प्रधानमन्त्रीलाई म यसबारेमा सोध्नेछु । सत्यमेव जयते कि सिंहमेव जयते ? लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो हो । त्यो फिर्ता ल्याउँछौं । किनभने सत्यमेव जयते,’ ओलीले भने ।

त्यस्तै प्रधानमन्त्री ओलीले कोरोना महामारीले विश्वव्यापी असर पारिरहेका बेला नेपालले आफूलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढाउनुपर्ने भएको बताए ।

छिमेकी भारतबाट सङ्क्रमित भएर आउने सङ्ख्या अत्यन्त बढी भएको र उनीहरु लुकेर बस्ने भएकाले गम्भीर भएर रोकथाममा लाग्नुपरेको जनाउँदै प्रधानमन्त्री ओलीले भने, ‘मानव जातिले कोरोनालाई पराजित गर्नेछ । नेपाललाई कोरोना मुक्त बनाउन र विश्व कोरोना मुक्त हुनेछ भन्ने विश्वास लिएका छौँ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement