जनता समाजवादीको भाषा अशिष्ट र खेदजनक छः प्रधानमन्त्रीको सचिवालय


काठमाण्डु – जनता समाजवादी पार्टी नेपालको विज्ञप्तिप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई लक्षित गर्दै जसपाले सोमबार ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणीप्रति प्रधानमन्त्रीको सचिवालयले अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक रहेको उल्लेख गरेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार विज्ञप्ति जारी गर्दै अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? भन्दै जसपालाई प्रश्न गरेका छन् ।

‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत ज़म्मेवारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो र सोचको दिवालियापन नै हो’, उनले भनेका छन्, ‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला ।’

सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्ने सल्लाहकार थापाको भनाई छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलोज गरिएको सन्दर्भ हो, यो कुनै नौलो कुरा होइन । आफ्नो निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन् । अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ’, उनले भने, ‘शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ । जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्तिअनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको छ ।’

त्यस्तै थापाले विशिष्ट तहमा पुगेका मानिसहरुलाई प्रयोग गर्ने भाषा सभ्य हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन् । तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्द प्रयोग गरिने अपमानजनक, तथ्यहीन,भ्रामक र गैरजिम्मेवार भाषाप्रति गंभीर आपत्ति प्रकट गर्नैपर्छ, जो सभ्य समाजको मूल्य र मानक विपरित रहेका छन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement