नेकपा बरमझीयाको बुढो पेडा पसल हो ?


केपी शर्मा ओली

गन्तव्यमा पुग्न सही नीति र योजना र विचारमा संगठित भएको हाम्रो पार्टी हुनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रको सुरक्षा र कार्यान्वयन गर्न अब नयाँ शुद्धीकरण अभियान र आन्दोलन सफलतापूर्वक चलाइने छ । त्रिशुली नदीमा कुनै फोहोर फ्याँके किनारामा पुग्छ । अनि त्यो फोहोर बाहिर पुग्छ । नेपालको कम्युनिस्ट आन्दोलनका फोहोर यो आन्दोलनले किनाराभन्दा बाहिर फाल्छ । यो कोशेढुङ्गा हुनेछ ।

अस्ति मात्रै पार्टी हाम्रो पार्टीको बैठकमा उपस्थित नभएकाहरूले सभा गरेछन् । सभामा एकथरीले एउटा नारा लगाए, अर्कोले अर्को नारा लगाए । त्यहीँ ठाकठुक हुन थालेछ । अहिले नै यस्तो छ, वहाँहरुको दुई वटा दर्शनढुङ्गामा झल्याकझुलुकु भएजस्तो । माथिका नेताहरूको ध्यान कुर्सीमा छ, पदमा छ । पद चाहिएको थियो भने त बैठकमा आउनुपथ्र्यो । यता आउनुपथ्र्यो । पाउने ठाउँमा लाग्नुपथ्र्यो । सुन्तला खानुपर्छ भने सुन्तला घारीतिर पो जानुपर्छ । सल्लाघारीतिर जाने ? पद चाहिएको छ उहाँहरुलाई ठूलोठूलो तर लाग्नुभएको छ खालीखाली ठाउँतिर ।

सन् २०२१ मा कोरोनालाई पराजित गर्नेछौं । पार्टीलाई व्यापक बनाएर यो वर्ष आँधीका रूपमा ल्याउनेछौँ । यो वर्षले हाम्रो राष्ट्रियतालाई मजबुत बनाउने छ । स्वाधीनतालाई मजबुत बनाउनेछ । यो वर्षले हाम्रो भौगोलिक एकता र समृद्ध नेपाल बनाउन हामी निकै अघि बढ्ने छौं । यो वर्ष नेपालको इतिहासमा उल्लेख्य महत्वको घुम्तिका रुपमा रहनेछ ।

हाम्रा उद्देश्यहरू संकीर्ण र पारिवारिक होइनन् । छोरा बुहारी, भाई भतिजा हामी देशका लागि लडेका छौँ । देशका सन्तानको भविष्यका लागि लडेका छौँ । कसैको ध्यान कतातिर कसको ध्यान कतातिर कसैको ध्यान खानतिर । साथीहरूलाई म भन्न चाहन्छु, पार्टी एकता ग¥यौँ । तर तीन महिनामा हुने भनेको काम तीन वर्षका किन पूरा हुन दिएन ? पार्टीले यस्तो सभा गर्न पाएको थियो ? पार्टीको संगठन यसरी चलेको थियो ।

सधैको झमेला र गुटको स्थिति थियो । गएका तीन वर्ष पार्टीले देश अघि बढाउन महत्वपूर्ण काम गर्नु पर्दथ्यो, देश बनाउन, जनता सचेत बनाउने र पार्टीले कार्यकर्ता परिचालन गर्नुपथ्र्यो । तर त्यो भएन । कार्यकर्तालाई अलमलमा राखियो । असंगठनमा राखियो । बलिदान, संघर्षबाट आएका कार्यकर्ता आज समाजको पछौटेपन हटाएर समाजलाई सचेत बनाएर संगठित हुनुपर्नेमा हलन चल शिथिल भएर बसेका छन् । समस्या कहाँ रहेछ र खिया कहाँ लागेको छ ? दुई वटा नटबोल्ट फेर्दा कहाँ पुग्यो । खिया लागेका दुईवटा नटबोल्ट फुक्लेको थियो पार्टी फुट्यो ।

उहाँहरु पार्टी फुट्यो भनेर कराइरहनु भएको छ । निर्वाचन आयोगबाट मैले एउटा पत्र प्राप्त गरें । खिया लागेका दुईवटा नटबोल्ट खुस्कियो थियो पार्टी फुट्यो । उहाँहरु पार्टी फुट्यो भनेर कराईरहनुभएको छ हामी सक्कली हौं भनेर । यो बरमझीयाको बुढो पेडा पसल हो असली र नक्कली ? पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर हामी सक्क्ली हौं । हामी नै असली हौँ भनेर निवेदन दिएको हिजो मलाई जानकारी दिएको छ। जसको घर हो ऊ निवेदन हाल्न जान पर्छ? जसको जमिन र गाडी हो ऊ जान पर्छ ? । पार्टीको विधान र नियमावली र कानुन अनुसार पार्टी सञ्चालन गरिहेका छन् । भेट्नु कुहिएर झरेका दुई फलहरूले रुख मै हुँ भनेर दाबी गर्ने ? हामीले उहाँहरुलाई बैठकमा आउनुस भनेका छौँ । आउनूस् बैठकमा । निमन्त्रणा गरेका छौं । पुष्पकमल दाहाललाई अध्यक्षमा राखेका छौँ । माधव नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेका छौँ ।

आउनुहोला । हामी अझै पनि सम्झाउन चाहान्छौं । पेरिसडाँडामा अहिले पत्रकार सम्मेलन हुँदैछ । यति गते यहाँ जाने, वहाँ जाने भनेका छन् । सिसीमा औषधि जम्मा गर्नेले पनि अलीअली मान्छे जम्मा गर्छ । उहाँहरुको हालत यो भन्दा बढी हुने छैन् । टाउको दुखेको, पिनास परेको, पेट दुखेको सबैको औषधि अब रत्नपार्कमा जम्मा गर्ने उहाँहरूको हालत हुनेछ । उहाँहरुको एजेन्डा देश होइन । संविधानको रक्षा होइन । संविधान संशोधन होइन । देशको नक्शा छापेवापत कत्रो पीडा थियो । सपना फेरी कत्रो देखेको? कार्की ब्याकेटमा जानुभएछ । केपी ओलीलाई निकाल्दियौँ भनेर भन्नु भएछ । निर्वाचन आयोगमा पनि पत्र पठाएछन् केपी ओलीलाई निकाल्दियौं भनेर । निर्वाचन आयोगका आयुक्त कति दिन हास्नु भयो ? जसको कटेरो उसको पुच्छर बाहिर ?

किन हामीले प्रतिनिधिसभा विघटन गर्नुप¥यो ? प्रतिनिधिसभाबाट धेरै काम गर्न सकिन्थ्यो । गर्न दिइएन सरकारले जे काम गरेको थियो त्यो प्रचारित हुन पाएन । कतिसम्म भनेको छ त सुनिहाल्नुभयो धरहरा केपी ओलीले होइन, इन्जिनियरले बनाएको रे ? इन्जिनियरले धरहरा बनाउँदैन डकर्मीले बनाउँछ मैले फेरी सम्झाएको छ । श्रमजीवीले बनाउने हो नेतृत्व कसले ग¥यो भन्ने हो । मैले उद्घाटन गरेको रानीपोखरी त्यति लामो समयसम्म किन बनेन ? म त आएपछि रानीपोखरी बन्यो ।

अस्ति धराहराको २२ तलाबाट काठमाण्डु यस्तो देखिन्छ भनेर फोटो आएको मैले पनि देखेँ । २२ तला धरहरा त बनिसकेछ त । उहाँहरूलाई भएको काम पनि भयो भन्न नसक्ने ? देख्दा छातीको साइज उस्तै छ तर चित्त ? राम्रो काम भयो भन्न पनि नसक्ने ? राम्रो कामको प्रचार भएन । जनताले थाहा पाएनन् ।

विश्वका तीव्र आर्थिक वृद्धि गर्ने १० देशमा नेपाल परेको छ । मानव विकास सूचकांकमा तिव्रताका साथ अगथाडि बढ्दै जाने क्रममा छ । विश्वभर नेपालको चर्चा हुने गरेको छ । अहिले भारतको हरेक नागरिकलाई नेपालको प्रधानमन्त्री को छ भन्यो भने नाम कण्ठै छ । अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो नाम सुनिन थालेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराको प्रशंसा गर्नु भएको छ । भारतका प्रधानमन्त्रीलाई नेपाल पुग्न खोजेको गन्तव्य थाहा छ । चीनका राष्ट्रपतिले पनि सही गन्तव्य भन्नु भएको छ । तर प्रचण्ड र माधव नेपाल, झलनाथ खनाललाई यो राष्ट्रिय आकांक्षाबारे कहिल्यै बोल्नु भएको सुन्नु भएको छ ? बरु अरुले बोल्ला, बरु ढुङ्गो बोल्ला उहाँहरुचित्त दुख्छ । किनकी यसको जस, श्रेय कसैलाई जान्छ कि भन्ने उहाँहरूलाई छ । हामी जसका लागि काम गर्दैनौं । नेपाली जनता भोकै बस्ने अवस्थाको अन्त्य हुन प¥यो ।

यो वर्ष कोभिड–१९ ले दुःख दियो । विकासका काम गतिका साथ काम गरेको ठाउँमा कोभिड–१९ ले अलि धक्का दियो । यसै वर्ष यसलाई नियन्त्रण गरेर अघि बढ्छौँ । कम्बोडियाले प्लेन चार्टर गरेर हामीलर्य औषधि सहयोग गर्दैछ । हामीले मागेर होइन उहाँहरुले आफैं दिनु भएको हो । चीन र भारतसँग सम्बन्ध अझै प्रगाढ हुँदै गएको छ । तीन दिनअघि उर्जासचिवको नेतृत्वमा भारतमा गएर शारदा ब्यारेज र नहर चलेको सन् १९२८ अर्थात ९२ वर्षदेखि पानी पाएको थिएन । महाकाली सन्धिमा चाँदनी–दोधारालाई पानी दिने सहमति भएको छ । कुनै सरकारले यो पानी चाहियो भनेर भन्न सकेको थिएन । अब ६ महिनाभित्र चाँदनी दोधाराले पानी पाउने छ ।

रक्सौलबाट, केरुङबाट काठमाण्डुमा रेल ल्याउन काम सुरु भएको छ । सुरुङ खन्न थालिएको छ । अब सुरुङ हेर्न विदेश जानुपर्दैन थानकोट जाँदा हुन्छ । सुनकोशी डाइभर्सन अघि बढ्छ । हुलाकी राजमार्गको चर्चा धेरैले गरे, तर बनाउन हामी नै चाहियो ।

प्रतिनिधिसभा विघटन गरेर मैले नयाँ जनादेशमा जाने निर्णय लोकतन्त्र, संविधान र स्थिरता र स्थायित्व खतरामा परेपछि गरेको हो । प्रायोजित रूपमा समाचार छाप्ने, पुनर्स्थापना भयो भने फलानालाई प्रधानमन्त्री बनाउन भनेर हुन्छ र ? अलि दिन कार्यकर्ता झुक्याउनु होला । तर पुनर्स्थापना हुँदैन ।

निर्वाचन आयोगले चुनावको तयारी थालेको छ । जनता ताजा जनादेशका लागि स्वच्छ व्यक्तिलाई मत दिन तयार छ । सशक्त बनाउने गरी मतदान गर्न जनता तयार छन् । उहाँहरुले प्रत्यक्षमा १६५ सिट आउँछ भन्नु भएको छ । धेरै नभनौँ ठिक्क मात्र भन्छु, कमसेकम २ वटा अंकको सिट ल्याएर देखाउनुस्? वहाँ यो अवस्थामा पुग्नुहुन्न, फर्किनुहुन्छ । हामीले ठाउँ राखेका छौँ । अब फर्किएर फेरि उपद्रो मच्चाउन पाइँदैन । अब थान्कोमा राखिन्छ । अब गुटबन्दीलाई बिदा गरेका छौँ। अब गुटबन्दी फर्कन दिइँदैन ।

हामीले देश अप्ठ्यारोमा प¥यो अनि दलभित्रबाटै कसैलाई थाहा नभई हस्ताक्षर बाकेर कहिले राष्ट्रपति, कहिले कता, कहिले कता पुगेको छ । केन्द्रीय कमिटीको बैठक भनेर सही गराउने अनि पेस गर्न चै अविश्वासको प्रस्ताव र विशेष अधिवेशनका लागि भनेर पेस गर्नुभयो यो झुटो हो । उहाँहरूतिर बहुमत छ भन्नु भएको छ । बैसाख १७ र २७ गते हेरौँ न। हाम्रा युवाहरुलाई यो देशमा अझै बाँच्नु छ । गतल प्रचार र उद्देश्यमा जान दिनु हुँदैन । युवाहरू देशलाई जोगाउने कुरामा सही विचार बोकेर जानुपर्छ । तीन वर्ष पार्टीको पक्षमा बोल्नु भयो। अनुशासनहीन थियो । प्रतिगमनतर्फ तयारी उनीहरूले गरिहरनु भएको थियो । हामीले यसलाई रोक्नु थियो। त्यसैले यो कदम चालेका हौँ । दुई तिहाई भएको पार्टी फुटाउने अनि पुतली सरकार बनाउने उहाँहरुको योजना थियो। सधैँ अस्थिरताको खेलमा देशलाई फसाउने, विकासलाई अवरोध गर्न मनाशाय उहाँहरुको थियो ।

देशलाई माया गर्ने, अरुबाट सञ्चालित नहुने सरकार चाहिएकोले विघटन गरिएको हो। सरकारले निर्णयका लागि पेस गरेका प्रस्ताव पेस हुँदैन । तर सभामुखले त्यसलाई पेस गर्दैन । ३ वर्षदेखि पेस गरेको विधेयक समितिमा लगेर अल्झाएको छ, अल्झाएको छ । यसको कारण सरकारलाई असफल गराउने नीति थियो । त्यसैले प्रतिनिधि सभा विघटन गर्न परेको हो। पुनर्स्थापना हुन्छ कि भनेर कतिपयले आशंका गर्नु भएको छ। झन्डै ६४ प्रतिशतको दलको नेताले ताजा जनादेश चाहिन्छ भनेर चलाउन्न भनेपछि कहाँ पठाउने फेरि ?

घरवाला भन्दैछ छानो नयाँ बनाउछु, तर छिमेकी पुरानै छानो हुनुपर्छ भन्छन् । कुहिएको छानोले नभएर नयाँ बन्दैछ । पुरानै खरको टुक्रा खोज्न जाने कुरा संविधानमा उल्लेख छैन भनेको छु । प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले सिफारिस गरेर राष्ट्रपतिले नयाँ निर्वाचनको मिति तोक्ने भनेको छ । संविधानको धारा ७६ मा स्पष्ट नै लेखेको छ । संविधानअनुसार पहिला गठबन्धन र पछि एकल सरकार बनेको हो । बहुमतको सरकारले म चलाउन सक्दिनँ भन्यो भने विघटन गर्न सक्छ । बाँकी अवधि खेर फाल्न हुँदैन भनेर यो विघटन गरिएको हो ।

काम गर्न नपाउने अवस्थामा विघटन गरिएको हो । यो फर्कने सम्भावना छैन । मुद्दा लड्न पाइयो । मुद्दा लड्ने एउटा कुरा हो। तर प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर विघटनको सिफारिस गरेको हुँ । केही महिनाअघि बोरिस जोनसनले संसद् विघटन गरेर २१ सांसदलाई निम्लबन गरी दुई तिहाई ल्याएका थिए । इजरायलमा पनि यही भएको छ । संसदीय अभ्यास भएका देशमा यो अभ्यास भएको छ।

धनगढीमा पार्टीका कार्यकर्ताले ३० लाख जम्मा गरेको रहेछ । तर एउटाले तिकडम गरेर झिकेछ। नेताहरूको ध्यान कहाँ छ त भन्दा कार्यकर्ताको पैसामा छ । कार्यकर्ताले बढो मुस्किलले जम्मा गरेको पैसा र जमिनामा छ । कसको ध्यान कहाँ कसको कहाँ ? कसको धन्दा के कसको के ? यतातिर धेरै जान चाहन्नँ । हामी पो खास पार्टी हौँ भनेर बरमझिया बुढाको पेडा झै दाबी आएको थाहा पाएको छु ।

हाम्रो अदालत असली चार्ली च्याप्लिन कुन हो भनेर छुट्टाउन नसक्ने अवस्थामा छैन । जुँगा हेरेर, अनुहार, कुम हल्लाएको हिसाबले चिन्छ । अदालतले चार्ली च्याप्लिन चिन्न अदालत र निर्वाचन आयोगले गलत गर्दैन । इतिहास सबैलार्य थाहा छ । सूर्य चिह्न हाम्रो हुन्छ । बहुमत कहाँबाट उहाँसँग कसरी भयो ? कुन महाधिवेशन र अधिवेशनले भन्यो ? कुनै एउटा जिल्ला, निर्वाचन क्षेत्रमा बहुमत ल्याएर देखाउनूस् । दाबी पनि कस्तो बहुमत ? रेस्लिङको कोडमा गएपछि अर्कोले किक हानेपछि रिङ आउट भएको जस्तो हो । कहाँ पुष्टि गर्नुभयो बहुमत ? कुन कार्यकर्ताले भोट दिए ? तपाईहरुले भोट हाल्नुभयो ? कहाँबाटा आयो ? घरका मान्छेले ? म साथीहरुलाई ढुक्क हुन आग्रह गर्दछु । यो २१ आं शताब्दीको ऐतिहासिक वर्ष र नेपालका लागि उल्लेख्य रुपमा असाधारण वर्ष हुनेछ । हामी चुनावमा लाग्यौँ । हाम्रा कमिटीहरु चुस्त दुरुस्त बनाऔं । हाम्रा कार्यकर्तालाई आँधी र बाढीझैँ अगाडि बढौँ । यस्ता गफ आफैं जान्छन् । हामी यसको पछि लाग्दैनौँ ।

एउटा घरमा चोर पसेछ । अँध्यारोमा भाँडा भुईंमा खसेछ । घरवालाले चोर हो कि भनेछ । चोरले म्याउँ भनेछ । तर टर्च बालेर हर्दा त ढाँडे रहेछ । त्यसको गति के भयो होला । एकछिन अध्यारोमा म्याउँ गर्लान् । तर यस पटक ठेगान लगाउने हो । ठेगान लगाउने मैदान चुनाव हो । परिवार र पैसाका लागि मरिमेट्ने तत्त्वबाट देशलाई जोगाउन आग्रह गर्ने हो ।

चुनावमा हारेको पद चाहिनेका लागि अब काम छैन । दुई वटा गुडियामा बच्चाहरुले खेलेपछि खेलौना पाएको व्यक्तिले यो त मेरौ हो भनेझैँ प्रचण्डको बानी रहेछ । जनता सोझा छन् अलमलिन्छन् । जादुगरले एकछिनमा एक र एकछिनमा अर्को थरि देखाउँछ । हाम्रा साथीहरु चटके काम गर्छन् । साथीहरुलाई म चटकेहरुको फेला नपर्नुस् ।

हामी जिउँदो राजतन्त्रलाई खाली हातले पन्जा लडाएर ढालेका थियौँ । हामीले गणतन्त्र ल्याएका हौँ । तानाशाह हामीले फालेका हौ । नेपाललाई रुवान्डा पार्न खोज्नेहरूलाई पराजित गरेर ल्याएका हौँ । नाकाबन्दी हामीले भोकै बसेर सामना गरेका हौँ । नक्सामा भएको हाम्रो जमिन विधिवत रुपमा फिर्ता ल्याउँछौ । मेरो अरु कुनै स्वार्थ छैन । अरु केही लिनु छैन । सुन्दर देश र सुन्दर पार्टी र व्यवस्था बनाउने हो । विकसित र सभ्य समाज बनाउने र गरिबी हटाउने मेरो अभियान हो । मेरो मात्र होइन, सबैको हो ।

(प्रधानमन्त्री ओलीले आफू पक्षका काठमाण्डु जिल्लास्तरीय कार्यकर्ता भेलामा शनिबार गरेको सम्बोधन)

प्रतिक्रिया दिनुहोस
Advertisement