प्रचण्डलाई प्रधानमन्त्रीको चेतावनीः तिल्के गोरुले धक्कु नलाए हुन्छ !


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्र्रचण्डलाई ‘सिङ फुक्लिसकेको तिल्के गोरु’ सँग तुलना गरेका छन् ।

दाङको लालमटीयामा सोमवार आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद पुनःस्थापना हुने चेतावनी दिँदै आएका प्रचण्डले ‘फाँ फू’ गर्दै हिँडेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रचण्डमा अशान्ति मच्चाउने क्षमता पनि नभएको बताउँदै धाक धक्कु नलगाउन चेतावनी दिएका छन् ।

ओलीले भने, ‘धेरै फुर्तिफार्ति गर्ने तिल्के गोरु एक दिन वहरसँग जुधेपछि सिङ भाँचिएर हिडे जस्तै यी तिल्केहरु पनि त्यस्तै हुन् । यिनले फाँ फू गर्छन् तर यियनका सिङ फुक्लिसके । यिनीहरूसँग अशान्ति मच्चाउने क्षमता पनि छैन,दम पनि छैन । यिनीहरूले केही गर्न सक्दैनन्, धाक धक्कु नलाए हुन्छ । तिघ्रा नठटाए हुन्छ, खुट्टा भ्याट भ्याट नगरे हुन्छ ।

आफूले अशान्ति र अराजकता नचाहेको भन्ने तर अदालतले फैसला आफू अनुकुल गरेन भने नत्र‘भन्ने खालका भाषा प्रचण्डले प्रयोग गरेको भन्दै ओलीले अब अशान्ति मच्चाउने धम्कीको अर्थ नरहेको बताए ।

‘अदालतप्रति भरोसा छ पनि भन्ने अनि हाम्रो पक्षमा फैसला गरेन भने नत्र..के भन्या ? शाकहारी आन्दोलनले भएन भनेर के भनेको ? बाघ जस्तै झम्ट भनेर नेपाली जनतालाई धम्क्याउन खोजेको ? म भन्न चाहान्छु एउटा जमाना हुन्छ कुनै पनि चीजको । तिल्के गोरुको सिङ भाँचिएको कथा मैले त्यसै भनेको होइन’, प्रधानमन्त्री अ‍ोलीले भने ।

सरकारले राम्रा काम गर्न खोज्दा खुट्टा समातेर चल्नै नदिएपछि अति भएर प्रतिनिधिसभा विघटन गरिएको ओलीको दावी छ । उनले आउने चुनावले त्यस्ता तत्वहरूलाई झुक्किएर पनि सांसद जिताउन नहुने बताए ।

त्यस्तै उनले संसदलाई रङ्गीबिरङ्गी झाँकी देखाउने थलो बनाउन नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘ठीक ढंगका प्रतिनिधि छानेनौं भने संसद त झाँकी जस्तो हुन्छ, संसदलाई जनताको साँचो प्रतिनिधिको थलो बनाउनुपर्छ ।’

चुनाव हुन्छ भन्नेमा आशंका नगर्न र प्रचार प्रसारमा लाग्न आग्रह गरे । ‘कसैले चुनाव हुँदैन, ओलीले चुनाव गर्दैन भनेका छन् भन्न दिनुस्,’ ओलीले भने, ‘भनेकै दिन चुनाव हुन्छ हामीले शानदार सफलता हासिल गर्छौं ।’

प्रहरी प्रशासन र प्रशासनलाई पनि स्वतन्त्र, निष्पक्ष र धांधलीरहित चुनावको तयारी गर्न निर्देशन दिए । उनले भने, ‘हामीलाई प्रहरी प्रशासनको वैशाखी टेक्नु परेको छैन, कार्यकर्ताको बलमा चुनाव जित्छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement