प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु


काठमाडौं – प्रधानमन्त्रीको आह्वानमा अहिले सर्वपक्षीय बैठक चलिरहेको छ ।

नापी विभागले प्रस्तुत गर्ने नक्सा तथा अरु तथ्य प्रमाणका आधारमा छलफल गर्ने र सुझाव सहितको निष्कर्षका आधारमा भारतसँग कुरा गर्ने योजनामा प्रधानमन्त्री रहेको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले सीमा समस्या समाधानका लागि भारतसँग कूटनीतिक तरिकाले नै वार्ता गरी समस्या समाधान गर्न सबैसँग छलफल सुरु गरेका हुन् ।

सरकारले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले प्रकाशित गरेको नक्सा अस्वीकार्य भएको र एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने प्रष्ट पारिसकेको छ ।

नेपाल र भारतको बीचमा रहेको सीमा समस्या लगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, तत्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री ईश्वर पोखरेल, राप्रपाका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री कमल थापा, नेकपाका नेताहरु वामदेव गौतम, सुवास नेम्वाङ, मन्त्रिहरु लगायतका परराष्ट्रविद, सीमाविद र प्रमुख दलका नेताहरुसमेत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement