प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।  वरिष्ठ अधिवक्ताद्वय कञ्चन कृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले अदालतको अवहेलना गरेको भन्दै कारबाही लागि निवेदन दिएका थिए ।

उनले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री ओलीले संवैधानिक इजलाशमा बहस गर्ने वरिष्ठ वकिल कृष्णप्रसाद भण्डारीमाथि दिएको अभिव्यक्तिले अदालत र इजलासको अवहेलना भएको ठहर गर्दै मुद्दा दर्ताका लागि निवेदन दिएका छन् ।

निवेदनमा सामान्य व्यक्तिलाई पनि क्षम्य नहुने व्यवहार प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिलाई झनै क्षम्य नहुने बताइएको छ । उनले निवेदनमा अदालतको अवहेलनामा कारवाही चलाई प्रधानमन्त्रीलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम हदैसम्मको सजायसमेत गर्न आग्रह गरेका छन् ।

‘म कसैको तर्फबाट पनि वकालतनामा नलगाएर अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा तटस्थ बसेको एक जिम्मेवार कानुन व्यवसायीले विपक्षीको अमर्यादित बोली र व्यवहारले अदालतको अवहेलना भएको महसुस गर्दै अदालत र इजलासको साख बचाउन आफैँ यो निवेदन गर्न आएको छु,’ उनले निवेदनमा भनेका छन् ।

वरिष्ठ अधिवक्ता भण्डारीले संसद पुनःस्थापनाको पक्षमा बहस गरेको भन्दै प्रधानमन्त्री ओलीले ‘बाजे वकिल’ भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement