आज संसदीय समितिमा जाँदै प्रधानमन्त्री, कालापानीबारे छलफल हुने


काठमाडौं – भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकलगायत नेपाली भूमिलाई आफ्नो नक्सामा समेटेपछिको अवस्थाबारे संसदीय समितिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गर्दैछन् ।

भारतीय अतिक्रमणको मुलुकभर विरोध भइरहेको र सरकारले पनि उक्त नक्साप्रति आफ्नो विरोध भारतसामू जनाइसकेको अवस्थामा संसदीय समितिहरूले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग सोमबार छलफल गर्न लागेका हुन् ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न लागेको छ । समितिले प्रधानमन्त्रीसँग भारतीय नक्सामा नेपाली भूमि पारेकोबारे छलफल गर्न लागेको हो ।

त्यस्तै, प्रतिनिधिसभाकै अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले पनि सोही विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई समितिमा बोलाएको छ । आज ११ः३०बजे बस्ने बैठकमा कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेक विषयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग छलफल गर्ने यो समितिको कार्यसूची रहेको छ ।

भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई गत आइतबार सार्वजनिक गरेको आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त कदमको विरोध भइरहेको छ । प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरू, सीमाविद् तथा यो विषयका विज्ञसँग छलफल गरेर भारतीय कदमको विरोध गर्दै नेपाली भूमि रक्षाका लागि राष्ट्रिय सहमति तयार पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement